|

बैतडी : मुख्य खाद्यबालीका रुपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। किराले भर्खरै उम्रेका बोटहरु सखाप परेको छ।

दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकामा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो। यस क्षेत्रमा गत वर्ष पनि फौजी किराको प्रकोप देखिएको थियो।

फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया–५ का किसान अजबबहादुर चन्दले बताए। ‘एकपटक उम्रेको मकै किराले सखाप  पा¥यो,’ उनले भने, ‘अहिले दोस्रोपटक छरेका छौं, यहाँका सबैजसो किसानले त्यस्तै गरेका छन्।’

दशरथचन्द–१ गुरुखोलामा पनि फौजी किराको प्रकोप देखिएको छ।   किसान अम्बादत्त बडुका अनुसार किराले भर्खरै हुर्कन लागेको मकैका बोट नष्ट गरेको छ। फौजी किराको प्रकोपले खेतमा लगाइएको मकैबाली नष्ट हुन थालेपछि  किसान समस्यामा परेका छन्।

पञ्चेश्वर–२ का देवबहादुर चन्द पनि फौजी किराको प्रकोपबाट पीडित छन्। उनले भने, ‘मकैबाली लगाएकै बेलादेखि फौजी किराले मकैबालीमा क्षति पु¥याउन थालेको छ। किराले मकैको पातमा पसेर गाबो समेत खाने गरेको छ।’

विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएकोले अनुगमनको तयारी भएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए। 

प्रमुख सिंहका अनुसार फौजी किरा रातको समयमा बढी सक्रिय हुने गरेकाले प्रकोप देखिएको ठाउँमा बिषादीको प्रयोग गर्नुपर्छ। उनले थपे, ‘एक किसानले मात्रै बिषादी प्रयोग गरेर मात्रै हुँदैन, सबै किसानले सँगै बिषदी छर्किनुपर्छ, नत्र बिषादी नछर्केको बारीबाट गइहाल्छन्।’

बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आएको छ। फौजी किराको प्रकोप देखा परेकोले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.