भारतको अयोध्यामा विवादास्पद राम मन्दिर निर्माण गर्न जग्गा किन्दा घोटाला भएको आरोप लागेको छ।
समाजवादी पार्टीका नेता एवम् पूर्व विधायक तेजनारायण पाण्डे उर्फ पवनले दुई करोड भारतीय रुपैयाँको जग्गाको मूल्य केही मिनेटमै १८ करोड ५० लाख भारतीय रुपैयाँ पुर्याइएको आरोप लगाएका हुन्।
राम जन्मभूमि ट्रष्टका सचिव चम्पत रायले यो आरोप झुटो एवम् राजनीतिबाट प्रेरित रहेको दाबी गरेका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै श्रीरामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले खरिद गरेको जमिनको मूल्य खुला बजार मूल्यभन्दा निकै कम रहेको उल्लेख गरेका हुन्।
समाजवादी पार्टीका नेता पवन पाण्डेयले आइतबार अयोध्यामा पत्रकार सम्मेलन आयोजना गर्दै जमिन खरिद गरिएको दिन २ करोड रुपैयाँ रहेको जमिनको मूल्य सोही दिन १८ करोड ५० लाख पुर्याइएको आरोप लगाएका थिए।
उनले भनेका थिए, 'सन् २०२१ मार्च १८ का दिन केही मिनेट पहिले सो जग्गाको बैना गरियो र पछि खरिद सम्झौता। जुन जग्गा दुई करोड भारुमा खरिद गरिएको थियो, १० मिनेटपछि त्यही जग्गा १८ करोड भारुमा बिक्री गर्ने सम्झौता भयो। सम्झौतामा र बैना गर्दा ट्रष्टी अनिल मिश्र र मेयर ऋषिकेश उपाध्याय साक्षी बसेका छन्।'
भारतले अयोध्यालाई श्रीरामको जन्मभूमि दाबी गरेपनि नेपालकै पर्सा र चितवनको सिमानामा पर्ने ठोरीमा रहेको दाबी भएको छ। त्यहाँ रामायणकालीन पूरातात्विक प्रमाणहरू पनि भेटिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।