|

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ३ स्थित औरही खोलाबाट मध्यरातमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा स्काभेटर (जेसिबी ) र टिपर  प्रहरीले नियन्त्रणमा लिएको छ।

औरही खोलामा आइतबार राति १ बजे स्काभेटर (जेसिबी ) र टिपर  प्रयोग गरेर अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ना७ख १६७३ नम्बरको १ वटा जेसिबी र ज१त ६२१ नम्बर १ वटा टिपर नियन्त्रणमा लिएको हो।

आइतबार राति स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको सुरक्षाटोली उत्खननस्थलमा पुगेको थियो। खोला ठेक्कै नलागेको अवस्थामा जथाभावी रुपमा नदीजन्य पदार्थ झिकिरहेको भेटिएपछि स्थानीयको सहयोगमा प्रहरीले घेरा हाली सवारीसाधन नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए।

आइतबार राति खोलाबाट उत्खनन भइरहेको गाउँलेले चाल पाएपछि प्रहरीलाई खबर गरेका थिए।

स्थानीयबासी र प्रहरीले अवैध उत्खननमा प्रयोग भइरहेको साधन नियन्त्रमा लिने प्रयास गरेपछि  जेसिबी र टिपरका चालक तथा सचाकल गाडी छोडेर फरार भएको स्थानीयबासी मनोज महतोले बताए।

प्रहरीले नियन्त्रमा लिइएको जेसिबी र टिपर सोही खोलानजिक कमलदेव यादव र रामकुमार महतोले संचालन गरेको वनदेवी बालुवा प्रशोधन उद्योगको रहेको बुझिएको छ।

औरही खोलाबाट विभिन्न क्रसर व्यवसायीले निषेधाज्ञाको अवज्ञा गर्दै अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएका हुन्। अवैध रुपमा खोला उत्खनन गरिरहेका साधनले १५ मिटरसम्म गहिरो बनाइ औरही खोला किनारमा संचालनमा रहेको आधा दर्जन क्रसरमा लग्ने गरेको स्थनीयले जानकारी दिएका छन्।

पछिल्लोसमय धनुषाको औरही, जलाद, बडहरी, सुखजोर, रातु, जगधर र कमला नदीबाट अन्धाधुन्ध रुपमा गिट्टी बालुवा झिक्ने काम हुँदै आएको छ।

नदी खोलामा हुने अवैध उत्खनन्ले भूक्षयीकरण बढेको भन्दै प्रदेश एकको संसदमा समेत यस्ता प्रवृत्तिमा नियन्त्रण गरिनुपर्ने कुरा उठिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.