|

गोरखा : राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्री राजिव गुरुङ (दीपक मनाङे) लाई कारबाही माग गरेको छ। 

सोमबार राखेपले एक विज्ञप्ति जारी गर्दै परिषदमा पदाधिकारीप्रति मन्त्री मनांगेले अशोभनीय लाञछनायुक्त अभिव्यक्ति दिएको भन्दै कारबाही माग गरेको हो।

राखेपका निमित्त सदस्य–सचिव पुरेन्द्रविक्रम लाखेद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिव्यक्तिको राष्ट्रिय खेलकुद परिषद घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानि भएको ठहर गर्दै दोषीउपर प्रचलित नेपाल कानुनबमोजिम कारबाहीसमेत माग गर्दछौं।’ 

मन्त्रीजस्तो जिम्मेवार पदमा रहेका मनाङेले सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति दिनु खेदजनक भएको राखेपले जनाएको छ। 

विज्ञप्तिमा लेखिएको छ- ‘राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवालज्यू तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङज्यूको नाम लिएर अत्यन्त अमर्यादित अशोभनीय लाल्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीज्यूबाट बाहिर आउनु आफैंमा खेदजनक रहेको छ।’

शनिबार तेस्रो पटक मन्त्री पदको शपथ लिएपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले आपत्तिजनक टिप्पणी गरेका हुुन्। उनले राखेपका सदस्य सचिव सिलवालको व्यक्तिगत जीवनमाथि आपत्तिजनक टिप्पणी गरे भने सदस्य गुरुङलाई ‘ठग’को संज्ञा दिएका थिए।

उनले सिलवालको व्यक्तिगत जीवनमाथि आपत्तिजनक टिप्पणी गर्दै भनेका थिए- ‘सिलवालको मोजमस्ती कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागलै हुने। मान्छेले भन्न अप्ठ्यारो मान्ला। तर, के गर्ने? सायद त्यसको स्वास्नी नराम्री होली, त्यो प्रब्लम पनि होला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.