|

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमै जुहारी परेको छ। 

प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएलगत्तै सल्लाहकार थापाले त्यसविरुद्ध लेखेका छन्। 

निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको प्रवक्ता श्रेष्ठले आरोप लगाए। जसपाको आधिकारिकताको निर्णयलाई लिएर प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन। 

उनले लेखेका छन्, 'निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ। संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो। अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो।'


जसपाको मात्रै नभएर नेकपाको विवादमा पनि निर्वाचन आयोगले यस्तै गरेको भन्दै उनले प्रश्न उठाएका छन्। अहिलको राजनीतिक संकटको कारण नै निर्वाचन आयोग भएको उनको भनाई छ। 

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के के गराउनुपर्ने हो, समयमै लिखित रूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि? भन्दै प्रश्न गरेका छन्। 

प्रवक्ता श्रेष्ठको भनाईलाई काउण्टर दिँदै उनले लेखेका छन्, 'अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के के गराउनुपर्ने हो, समयमै लिखित रूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि? अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन। पार्टी त फरक परिहाल्यो, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झेँ।'

थापाले पार्टी फरक परेपनि सुझावसम्म दिनु उपयुक्त सम्झेको बताएका छन्। त्यसो त नेकपाको एकता भंग हुनुअघि पनि श्रेष्ठ र थापाबीच कडा टक्कर पर्ने गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.