|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७८ का लागि सवा ३० अर्बको बजेट ल्याएको छ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब पाँच करोड कमको बजेट प्रस्तुत गरेका हुन्।

शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका छन्। प्रस्तुत बजेटमा १० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको मन्त्री शाहले घोषणा गरे। चालू आर्थिक वर्षभन्दा झण्डै ३ अर्ब बजेट घटेर ल्याइएको हो।

चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो। आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन्। प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ।

यस्तै प्रदेश गौरवका आयोजना र क्रमागत योजनाका लागि ५ अर्ब १२ करोड, तटबन्धका लागि २ अर्ब २ करोड, खानेपानी योजनाका लागि १ अर्ब ३४ करोड, मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास कार्यक्रमका लागि १६ करोड बजेट विनियोजन गरिएको छ।

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ। अस्पताल स्तरोन्नती तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तिकरण कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ।

यस्तै बादी समुदायको गरिवी न्यूनीकरणका लागि ३ करोड, कैलाश मानसरोवर प्रवेशद्वार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न २ करोड ५० लाख, सशस्त्र द्वन्द्वमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री शाहले उल्लेख गरेका छन्।

मन्त्री शाहले अगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताएका छन्। उनले अगामी वर्षलाई अस्पताल स्तरोन्नती तथा सेवा विस्तार सुधार वर्षका रुपमा मनाउँदै पूर्वाधार विकासका लागि २ अर्ब ५८ लाख बजेट विनियोजन गरेको बताए।

यस्तै भौतिक पूर्वाधारतर्फ प्रदेश गौरवका सडक निर्माण, ठूला पूर्वाधार र रुपान्तरणकारी योजनालाई अगामी वर्षमा निरन्तरता दिने गरी बजेट विनियोजन गरेको उनले बताए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.