|

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरेको बजेट लक्ष्य हासिल गर्ने खालको नभएको प्रतिपक्षले आरोप लगाएको छ।

आर्थिक मामिला तथा योजाना मन्त्री कैलाश ढुंगेलले मंगलबार प्रदेश सभामा बजेट पेस गरेका हुन्। चालू तर्फ ४५ प्रतिशत अर्थात् २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पुँजिगत तर्फ ५१ प्रतिशत अर्थात् २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ विनियोजन भएको छ। त्यस्तैगरी वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत अर्था दुई अर्ब विनियोजन गरेको छ। 

प्रतिपक्षीहरूले प्रदेश सरकारले आगामी आवको लागि ल्याएको बजेट औपचारिकता पूरा गर्न ल्याएको बताएका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले सकारले ल्याएको बजेटले प्रदेशको आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै बजेटलाई नीति तथा कार्यक्रमको नारासँगै जोडेर ल्याएको आरोप लगाए।

जम्कट्टेलले सरकारले बजेटमा आवश्यक कुरा हटाएर अनावश्यक कुरालाई समेटेको भन्दै बजेट जनमुखी नभई कार्यकर्ता पोस्नक लागि ल्याइएको दाबी गरे। ‘बजेट वास्तवमा प्रगति उन्मुख र जनजागरण खालको छैन। सरकारले यो बजेट औपचारिकताको लागि मात्रै ल्याएको छ। यो बजेट सरकारको आसेपासेलाई फाइदा हुने खालको बजेट ल्याएको छ’, उनले भने।

सञ्चारगृह सञ्चालनको लागि १० करोड छुट्याउन आवश्यक नभएको, प्रदेशको विकासमा पछाडी परेका स्थानको लागि बजेट विनियोजन नगरिएको , दलित तथा लापोन्मुख जातिको लागि विशेष कार्यक्रम नबनाएको उनको भनाइ छ।

त्यस्तैगरी नेपाली कांग्रेसको संसदीय दलको नेता इन्द्र बहादुर बानियाँले सरकारले ल्याएको बजेटमा रकम व्यवस्थापन लक्ष्य हासिल गर्ने खालको नभएको बताए।

उनले १७ अर्ब लाग्ने सुरुङमार्ग निर्माणको लागि प्रदेश सरकारले ७५ करोड विनियोजन गरेर नहुने काममा बजेट खर्च गरेको बताए। उनले सरकारको मुख काममा फरक भएको भन्दै भने ‘ यो बजेट कार्यान्वयन हुने र जनताले लाभ हासिल गर्ने खालको छदै छैन। त्यो कुरा सुरुङमार्गको लागि छुट्याएको बजेटले देखाँउछ।’

बानियाँले विपद् व्यवस्थापनको लागि पनि निकै कम रकम छुट्याइएको भन्दै आपत्ति जनाए। ‘यो विपदमा एउटै ठाँउमा १० करोडसम्म लाग्ने गर्छ। त्यसैले सरकारले १३ वटा जिल्लाको लागि कम्तीमा पनि २०/२५ करोड रुपैयाँ छुट्याउनु पर्नेथियो। त्यसैले सरकारको बजेट काम गर्ने खालको नभई कर्मकाण्ड गर्ने खालको छ,’ बानियाँले भने।

उनले सरकारले अनावश्यक रुपमा सबैतिर बजेट छरेको बताए।

त्यस्तै विवेकशील साझाका रमेश पौड्यालले वर्तमान अवस्थाको स्वास्थ्य चुनौतीलाई सरकारले प्राथमिकतामा राखेको भए पनि पर्याप्त भने नभएको बताए।

खोपका लागि छुट्याएको दुई अर्ब पर्याप्त नहुने भन्दै आवश्यकता अनुसार बजेट विनियोजन नगरेको बताए। उनले विपद् व्यवस्थापनमा छुट्याइएको १० करोड रुपैयाँ एकदमै कम भएको भन्दै सरकार प्राथमिकता निर्धारणमा चुकेको बताए।

पौड्यालले पुर्वाधार विकास कार्यक्रम खारेज गर्नु स्वागतयोग्य भन्दै शब्द मात्रै घुमाउरो राखेर सांसदकै हालीमुहाली हुनेगरी बजेट चलाउने हो कि भनेर शंका व्यक्त गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.