सबैभन्दा ठूलो बागमतीको, सानो गण्डकीको

|

काठमाडाैं : सातै वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि मंगलबार बजेट सार्वजनिक गरेका छन्।

असार १ गते नै बजेट प्रस्तुत गरिसक्नु पर्ने कानुनी व्यवस्थाअनुसार सबै प्रदेशले एकै दिन बजेट सार्वजनिक गरेका हुन्। प्रायजसो सबै प्रदेशले बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राखेका छन्।

बजेटमा मुख्य प्राथमिक्ता कोरोना नियन्त्रण र रोकथामका लागि रहेको छ। यसवर्ष सबैभन्दा बढी बागमती प्रदेशले ५७ अर्ब बढीको बजेट ल्याएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशले ३० अर्बको बजेट ल्याएको छ। 

प्रदेश १ मा चालु वर्षको भन्दा ८ अर्ब कम  

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालु आवमा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट कार्यन्वयन गरिरहेको प्रदेश १ ले आगामी आवका लागि ३२ अर्ब बढिको बजेट ल्याएको हो।

प्रदेश सरकारले चालु आवको बजेटभन्दा करिब ८ अर्ब कम आकारको बजेट ल्याएको हो। बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र  पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ। स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड र शिक्षा क्षेत्रको पूर्वाधार विकासमा १ अर्ब १९ करोड र समग्र कृषि क्षेत्रमा २ अर्ब ९० करोड रकम विनियोजन गरिएको छ।

प्रदेश २ मा २२ करोड बढि

प्रदेश २ सरकारले आवका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश २ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिए।

प्रदेश २ ले चालु आर्थिक वर्ष भन्दा २२ करोड बजेट बढाएको छ। कुल विनियोजनमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६ दशमलव २ प्रतिशत र पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३ दशमलव ४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात् शून्य दशमलव ३ प्रतिशत छ।

बागमतीमा चालु वर्षको भन्दा ६ अर्ब बढि

संघीय राजधानीसमेत जोडिएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ५७ अर्ब बढिको बजेट विनियोजन गरेको छ। यो बजेट चालु आवमा भन्दा ६ अर्ब बढि हो।

प्रदेशसभाको आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आवको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरे।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्ब १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब एक करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बागमतीले चालु आवको ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट कार्यान्वयन गरिरहेको छ।

गण्डकीमा गत वर्षको भन्दा ४ अर्ब कम

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। प्रदेशको बजेट चालु आवको वर्षको भन्दा ४ अर्ब रुपैयाँले घटेको छ।

चालु आवका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको यो प्रदेशले आगामी आवका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो।

बजेट घटेपछि प्रदेशको चालु खर्चमा चाप पर्ने देखिएको छ। केन्द्र सरकारबाट पाउने अनुदान र राजश्वमा आएको कमीका कारण चालु आवको तुलनामा आगामी आर्थिक वर्षको बजेट घटेको हो। 

लुम्बिनीमा चालु आवको भन्दा ४ अर्ब बढि

लुम्बिनी प्रदेश सरकारले आगामी आवका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट ल्याएको छ। लुम्बिनी प्रदेशले चालु आवमा बजेटको तुलनामा बजेटमा बृद्धि गरेको हो।

चालु आवका लागि ३६ अर्ब ३५ करोड २५ लाखको बजेट कार्यान्वयन गरिरहेकाेमा आगामी आवमा बजेट भने करिव ४१ अर्बको बजेट ल्याएको हो। अर्थमन्त्री बैजनाथ चौधरीले बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख विनियोजन गरिएको बताए।

कर्णालीमा चालु आवमा करिब ३ अर्ब बजेट बढ्यो

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब, ५४ करोड ६६ लाख ३६ हजारको बजेट ल्याएको छ। अर्थमन्त्री गोपाल शर्माले आगामी आवका लागि प्रदेशसभामा बजेट सार्वजनिक गरेका हुन्।

कर्णाली प्रदेश सरकारले चालु आवमा भन्दा करिव ३ अर्ब बढि बजेट ल्याएको छ। २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट कार्यान्वयन गरिरहेको छ। 

सुदूरपश्चिममा ३ अर्ब बजेट कटौती

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आवको बजेट सार्वजनिक गरेका हुन्।

चालु आवका लागि लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट कार्यान्वयन गरिरहेको प्रदेशले ३ अर्ब बढि बजेट कटौती गरेको छ। चालु आवमा बजेट बढाएको यो प्रदेशले आवमा २०७६/०७७ मा २८ अर्बको बजेट ल्याएको थियो।

प्रदेश सरकारले कोभिड लगायतका महामारी नियन्त्रणका लागि ९० करोड विनियोजन गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.