|

झापा : दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको हत्या परिचितबाटै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटना शकांस्पद रहेको अनुसन्धानमा खटिएका प्रहरीको दाबी छ।

लाइफलाइन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत इलाम देउमाई नगरपालिका–४ निवासी कोइरालाको जेठ २६ गते बुधबार मृत्यु भएको थियो।

दमक-५ स्थित एक घरमा फ्ल्याट भाडा लिएर बस्दै आएकी छात्रा कोइराला शौचालयमा अचेत अवस्थामा भेटिएकी थिइन्। बुधवार बेलुकी करिब ५ बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए।

उनको मोबाइल कल रिसिभ नभएपछि साथीहरू कोठामा पुग्दा उनलाई शौचालयमा अचेत अवस्था देखे। त्यसपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरी उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमक लगियो। तर, उनलाई बचाउन सकिएन।

छात्रा कोइराला शौचालयमा अचेत अवस्थामा भेटिएकोले झापा प्रहरीले घटनाको विषयमा सूक्ष्म रुपमा अनुसन्धान थालेको थियो। छात्राको मृत्यु नभई घटना शकांस्पद भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाको दाबी छ।

'अहिले नै हत्या भन्न मिल्दैन, घटना शङ्कास्पद छ, हामी यस विषयमा अनुसन्धान गरिरहेका छौं,' डिएसपी थापाले भने, 'धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवलाई पोस्टमार्टमका लागि पठाएका थियौँ, त्यहाँबाट रिपोर्ट प्राप्त भइसकेको छ, अब रिपोर्टको आधारमा हामी थप अनुसन्धानमा जुटेका छौँ।' सत्य तथ्य घटना एक दुईभित्रै सार्वजनिक गरिने उनको भनाइ छ।

पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएको छ। प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले छोरीको बलात्कारपछि हत्या भएको उनका बुबा सरोज कोइरालाको दाबी छ। पोस्टमार्टम रिपोर्टकै आधारमा प्रहरीमा किटानी जाहेरी दिएको उनले बताए।

केही मिडियाले छात्रा कोइरालाको बलात्कारपछि हत्या भएको दाबी गर्दै समाचार लेखेको विषयमा थाहाकर्मीले राखेको जिज्ञासामा डिएसपी थापाले भने, 'बलात्कारपछि हत्या भएको तथ्यको पुष्टि पोस्टमार्टम रिपोर्टले गर्ने हो, बलात्कारपछि हत्या भएको प्रहरीले कसैलाई भनेकै छैन, तर फेरि पनि भन्छु घटना शङ्कास्पद छ।'

यता इलाका प्रहरी कार्यालय दमकले घटनामा संलग्न भएको आंशकामा स्थायी ठेगाना भोजपुर घर भई हाल दमकमा बसोबास गर्ने अरुण राईलाई नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रण रहेका राई मृतकका प्रेमी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.