|

गुल्मी : मालिका गाउँपालिका वडा नम्वर ७ का संक्रमित दम्पतीलाई मंगलबार उच्च ज्वरो र खोकीले सतायो। 

उनीहरूलाई घमिर स्वास्थ्य चौकीको एम्बुलेन्समार्फत साँझ उपचारका लागि तम्घास ल्याइँदै थियो। 

बाटोमा आउँदै गर्दा फूलबारी खोला बढेकाले एम्बुलेन्स तर्न सकेन। खोला तर्न एम्बुलेन्स नसकेपछि सदरमुकाम तम्घासबाट नेपाली सेनाको ट्रक पठाइयो। सेनाको ट्रक पनि  इश्मा गाउँपालिका वडा नम्बर एकको झरना गुर्वा खोला तर्न नसकेकाले संक्रमितलाई उपचारका लागि सदरमुकाम तम्घास ल्याउन सकिएन्।

सो खोलामा मालवाहक ट्रक पनि फसिएको र सेनाको ट्रक तर्न नसकेको संग्राम सादुल गुल्मका गुल्मपति डायमण्ड कार्कीले जानकारी दिए। सो खोलामा रहेको कल्भर्ट स्थानीयहरूले गत वर्ष असार १९ गते घर डुबानमा पर्न लागेको भन्दै डोजर लगाई तोडफोड गरेका थिए। कल्भर्ट हालसम्म पनि निर्माण तथा मर्मत हुन सकेको छैन।

संक्रमित श्रीमान र श्रीमतीलाई अहिले मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैको एक घरमा राखिएको अर्जैका वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए। 

संक्रमितलाई राति थप समस्या हुन सक्ने भन्दै अक्सिजन सिलिन्डर र स्वास्थ्यकर्मीको व्यवस्था गरी राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।

यता गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संक्रमितको अवस्था सामान्य रहेको र सेनाको ट्रक पनि खोला तर्न नसकेको बताइन्।

अविरल वर्षाका कारण रेसुंगा नगरपालिका वडा नम्बर ७ बेदुखर्कका दुई घरमा पानी पसेको र घर जोखिममा रहेकाले सुरक्षित स्थानमा सारिएको छ। स्थानीय लक्ष्मी कुँवर र रामबहादुर खडकाको परिवारलाई  छिमेकीको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। 

यस्तै रुरुका २ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.