|

चितवन : चितवनमा कोरोना संक्रमण दर घट्दै गएको छ। पछिल्लो हप्ता संक्रमण दर १३.४४ प्रतिशत कायम भएकोे छ। त्यसअघि संक्रमणले तीव्रता लिएका बेला जेठको पहिलो हप्ता संक्रमण दर ३२ प्रतिशत थियो। दोस्रो हप्तामा संक्रमण दर घटेर १७.८ प्रतिशतमा झरेको थियो।

जेठमा २० हजार ३८५ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा तीन हजार ८७१ जनामा संक्रमण पुष्टि भएको हो। जेठमा पाँच हजार ९८१ जना संक्रमित निको भएका छन्। जेठको पहिलो हप्तामा एक हजार ७०३ जनामा संक्रमण भेटिदा ४०५ जना मात्रै निको भएका थिए।
 
जेठको अन्तिम हप्तामा ५१९ जनामा संक्रमण भेटिँदा ७८७ जना संक्रमित निको भएका छन्। जेठमा ९३ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जेठ २० गतेपछि होम आइसोलेसनमा बसेका धेरैजसो संक्रमित निको भएका छन्।
 
स्वास्थ्य कार्यालयले संक्रमण पुष्टि भएको १४ दिनसम्म कुनै लक्षण नदेखिएका संक्रमितलाई स्वत संक्रमणमुक्त भएको घोषणा गरेको हो। जेठ २१ गते एकै दिन ९०३ जना संक्रमित निको भएका थिए। जसमा अधिकांश संक्रमित १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि संक्रमण मुक्त भएका हुन्।
 
एन्टिजेन परीक्षणमा संक्रमण दर 

पिसिआरभन्दा एन्टिजेन परीक्षणमा संक्रमणदर धेरै पाइएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्। जेठको अन्तिम हप्ता ४२३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १६० जनामा संक्रमण भेटिएको थियो।

यस तथ्यांकलाई आधार मान्दा एन्टिजेन परीक्षणमा संक्रमणदर ३७ प्रतिशत देखिन्छ। सोही अवधिमा तीन हजार ४३७ जनाको पिसिआर परीक्षण गर्दा ३५९ जनामा संक्रमण देखिएको थियो। यसरी हेर्दा पिसिआर परीक्षणमा संक्रमण दर १० प्रतिशत मात्र रहेको पाइन्छ।
 
एन्टिजेन परीक्षणमा संक्रमणदर बढी देखिनुले समुदायस्तरमा कोरोना फैलिएको प्रमाणित हुने उनी बताउँछिन्। एन्टिजेन परीक्षण स्वास्थ्य चौकीहरुमा पनि हुने र आधा घण्टामा नै रिपोर्ट निस्किने भएकाले एन्टिजेन परीक्षण गर्न अस्पताल पुग्नु पर्दैन।

संक्रमणको आशंका र संक्रमित परिवारका सदस्यहरुले बढी रुपमा एन्टिजेन परीक्षण गर्ने भएकाले संक्रमणदर बढी पाइएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारी बताउँछन्। ‘बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जोखिम कायमै रहेको देखिन्छ’, उनी भन्छन्, ‘जनस्वास्थ्य मापदण्ड पालना गराउने कुरा ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्छ।’

संक्रमण दर १० प्रतिशतभन्दा तल र सक्रिय संक्रमितको संख्या ५०० मुनि भए मात्रै संक्रमणको जोखिमलाई सामान्य मान्न सकिने उनले बताए। जोखिम विश्लेषण गरेर कम जोखिम भएका क्षेत्रलाई विस्तारै खुला गर्दै जाने उनी बताउँछन्। उनले भने, ‘ग्रामीण क्षेत्रमा पछि मात्रै संक्रमण फैलियो। अझै फैलिरहेको अवस्था छ।’

मंगलबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार ५४८ रहेको छ। संक्रमणबाट हालसम्म यहाँका २५० जना संक्रमितको मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.