|

बैतडी : असारमा गरिने विकास निर्माणका काम गुणस्तरीय नहुने भएपनि असारमै आएर विकास निर्माणमा काम हुने प्रवृत्ति रोकिएको छैन। बैतडीमा रहेका सरकारी सरकारी कार्यालयहरूको विकास बजेट खर्च स्थिति हेर्दा 'असारे प्रवृत्ति' नरोकिएको पुष्टि हुन्छ।

आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा जिल्लाका विकासे कार्यालयहरूको पूँजीगत बजेट खर्च न्यून भएको पाइएको कोष तथा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ। 

प्रदेश सरकार मातहत रहेको सुख्खा फलफूल विकास केन्द्रको २८ लाख ३० हजारमध्ये ६ लाख ५ हजार रुपैयाँमात्रै खर्च भएको छ। यो कुल बजेटको २१.३७ प्रतिशत मात्रै रहेको कोष तथा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए। 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ४१ करोड ४३ लाख ५ हजार पूँजीगत बजेट मध्ये ११ करोड ७ लाख ८५ हजार रुपैयाँमात्रै खर्च भएको छ। यो कुल बजेटको २६.७३ प्रतिशत मात्रै हो। 

यस्तै, स्वास्थ्य कार्यालयको १ करोड ९० लाख २१ हजार बजेट मध्ये ५५ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको २९.३२ प्रतिशत हो। कृषि ज्ञान केन्द्रको १ करोड १५ लाख २० हजार बजेट मध्ये ३३ लाख ९ हजार रुपैयाँमात्रै खर्च भएको छ। यो विनियोजनको २८.७२ प्रतिशत मात्रै हो।

यसैगरी जिल्ला अस्पतालका लागि विनियोजित १ करोड ५ लाख मध्ये ३ लाख १६ हजार रुपैयाँमात्रै खर्च भएको छ। यो खर्च कुल विनियोजनको २.१ प्रतिशत मात्रै हो। जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिदका लागि आएको बजेटबाट टेण्डर आह्वान भएको र खर्च भइनसकेकाले कम खर्च देखिएको छ। 

सबैभन्दा बढी बजेट भएको पूर्वाधार विकास कार्यालयले १ अर्ब ३९ करोड २० लाख ६१ हजार बजेट मध्ये ८१ करोड १७ लाख बजेट मात्रै खर्च गरेको छ। यो कुल बजेटको ५८.३ प्रतिशत हो।

यस्तै जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको २२ करोड २४ लाख बजेट मध्ये ५ करोड ३७ लाख ९६ हजार रुपैयाँमात्रै खर्च भएको छ। यो कुल बजेटको २४.१८ प्रतिशत मात्रै हो। यसैगरी, घरेलु तथा साना उद्योग विकास समितिको ४६ लाख १० हजार बजेट मध्ये ४ लाख २ हजार रुपैयाँमात्रै खर्च भएको छ। यो खर्च कुल बजेटको ८.७२ प्रतिशत हो।

शहरी विकास तथा भवन निर्माण कार्यालयको १६ करोड २६ लाख ६३ हजार पूँजीगत बजेटमध्ये ७ करोड १० लाख ७३ हजार मात्रै खर्च भएको छ। यो कुल बजेटको ४३.६९ प्रतिशत हो। 

यस्तै, डिभिजन वन कार्यालयको ३ करोड २७ लाख ५९ हजार बजेट मध्ये १ करोड १९ लाख २ हजार खर्च भएको छ। यो कुल बजेटको ३६.३३ प्रतिशत मात्रै खर्च हो।

केही कार्यालयहरूले बजेट थप खर्च गरेको भएको भएपनि भुक्तानी गर्न बाँकी रहेकोले कम खर्च भएको देखिएको लेखापाल भट्टको भनाइ छ। उनले भने, ‘कतिपय कार्यालयहरूले काम सम्पन्न गरेको र भुक्तानी लिन बाँकी रहेकाले खर्च प्रतिशत कम देखिएको छ।’

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहेकोले उक्त अवधिमा खर्चको आकार बढ्ने देखिएको छ। तर असारे विकासले विनाश पनि निम्त्याउने भएकोले यसको आलोचना समेत हुँदै आएको छ।

असारे विकास गुणस्तरीय र दीगो नहुने हुँदा यो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा दोगडाकेदार गाउँपालिका-३, श्रीकोटका गणेश विष्टको भनाइ छ। उनले भने, ‘बजेट सिध्याउनमात्रै असारमा आएर हतार हतार काम गरिन्छ, यसले विकासका काम दिगो र मजबुत हुँदैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.