|

स्याङ्जा : कालीगण्डकी नदीमा आएको बाढीका कारण सेतीबेणी बजार डुवानको उच्च जोखिममा रहेको भन्दै कालीगण्डकी ए जलविद्युत् आयोजनाको उत्पादन बन्द गरिएको छ। 

कालीगण्डकी नदीमा पानीको सतह उच्च रहेको कारण तीनवटा टर्बाइनबाट उत्पादन हुने १४४ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको हो। ‘विद्युत् उत्पादन गर्दा जलाशयमा पानी थुन्नुपर्ने हुन्छ। यहाँ पानी थुनियो भने सेतीबेनी बजार अझै जोखिममा पर्न सक्छ,’ आयोजना प्रमुख पशुपति गौतमले भने, ‘त्यसैले उत्पादनलाई शून्यमा झारेका हौं।’

कालीगण्डकीमा पानीको बहाव १६ वर्ष यताकै उच्च भएपछि जलविद्युत् आयोजनाले तीनवटा डाइभर्सन गेट खुला गरेको छ। अहिले कालीगण्डकी नदीमा पानीको बहाव ३७ सय क्युसेक रहेको जलविद्युत् आयोजनाका ड्याम इञ्चार्ज विश्व झाले बताए। १६ वर्षअगाडि पाँच हजार क्युसेक पानीको बहाव मापन भएको थियो। जलविद्युत् आयोजनाको डिजाइन नै ६४ सय क्युसेक रहेको झाले बताए।

अविरल वर्षाको कारण बुधबार १८ घरधुरी डुबानमा परेका छन्। त्यस्तै,  आठ घरधुरी पूर्ण रुपमा क्षति भएको छ । धार्मिक तथा पर्यटकिय हिसाबले पनि निकै लोकप्रिय मानिने विश्वको सबैभन्दा ठूलो शालिग्राम शिला समेत डुबानमा परेको छ। यस्तै , पर्वत र स्याङ्जाको भुभागमा रहेको सेतीबेनी बजार क्षेत्रका बासिन्दा रातभरि सुत्न समेत पाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.