अधिकांश चोरीका भएको आशंका

|

पर्सा : कागजपत्रबिना अवैध तरिकाले सीमावर्ती जिल्ला पर्सामा चलाइएका भारतीय नम्बर प्लेटका मोटरसाइकल पक्राउपछि भन्सार बुझाउँदा झण्डै ६५ लाख नेपाली मूल्य कायम भएको छ। चालु आर्थिक वर्षको जेठ महिनासम्ममा प्रहरीले अवैध ठहर गरी पक्राउ गरेका भारतीय नम्बर प्लेटका मोटरसाइकलको झण्डै ६५ लाख नेपाली रुपैया ( नेरु ) कायम भएको हो।

अवैध तरिकाले सीमावारि नेपालमा चलाइएको भारतीय नम्बरका मोटरसाइकल प्रहरीले पक्राउ गरी न्यूनतम मूल्य कायम गर्दै थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाउने नियम छ। यसरी अवैध तरिकाले चलाइएको त्यस्ता मोटरसाइकल  जेठसम्ममा पर्सा प्रहरीले ७६ वटा नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले बताए।

सबै कागजपत्र विनाका

नेपाली नम्बर प्लेट नभएपछि भारतीय रुपैयाँमा ( भारु ) मा खरिद गरिएका मोटरसाइकल भन्ने बुझ्न खासै गाह्रो पर्दैन। ‘कतिपय मोटरसाइकल त प्रहरीले शंका गरी निगरानी राख्न थालेपछि चालकले त्यहीँ छाडेर फरार भएका पनि नियन्त्रणमा परे।‘ त्यस्ता मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान र कार्वाहीका लागि वीरगन्ज भन्सारमा बुझाएको उनको भनाइ छ।

चोरीका वा अवैध रहेको शंका गरी प्रहरीले नियन्त्रणमा लिएका ७६ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलको कुनै कागजपत्र नरहेको प्रहरी नायव उपरीक्षक खनालले बताए। निश्चित समयसम्म सम्बन्धित व्यक्ति सम्पर्कमा नआएपछि ती सबै मोटरसाइकल आवश्यक कारबाहीको लागि प्रहरीले भन्सारमा बुझाउनुपर्ने हुन्छ। सोही नियमअनुसार प्रहरीले आवश्यक कार्य गर्दछ उनले भने।

निषेधाज्ञामा झन बढ पक्राउ

कोरोनाको दोस्रो लहर आएपछि त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि पर्सामा गएको बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको छ। अवैध तरिकाले चलाइएका भारतीय नम्बर प्लेटका मोटरसाइकल पनि यही समयमा सबैभन्दा बढि अर्थात ५२ वटा पक्राउ परेको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। निशेधाज्ञाका समयमा पक्राउ परेका ती मोटरसाइकल मात्र नेरु ४६ लाख ६५ हजारका रहेका छन्। चालु आर्थिक वर्षको साउनदेखि बैशाख १५ गतेसम्म जम्मा २४ वटा मात्र भारतीय नम्बरका मोटर साइकल प्रहरीले पक्राउ गरेको तथ्याँकमा उल्लेख गरिएको छ।

अधिकाश चोरीक भएको आशंका

पक्राउ परेका मोटरसाइकलहरुमा सबैभन्दा बढी डेडसय सिसिभन्दा माथिका रहेका छन्। प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका ती मोटरसाइकल प्रायः चोरीका भएको हुन सक्ने प्रहरी अनुमान छ। राम्रो तरिकाले चलाइएका सवारीको कागजपत्र हुने र कारणवश प्रहरीको नियन्त्रणमा पर्दा सम्बन्धित व्यक्ति आफैँ आउने गरेका छन्।

प्रहरी आशंकामा पक्राउ त धेरै सवारी पर्छन्। तर सम्बन्धित व्यक्ति कागजपत्र आएर वास्तविकता बताएपछि प्रहरी अनुसन्धान गरी दिने गरेको पर्साका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक खनालले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.