|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति कम गर्नका लागि वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिन थालेको छ। निकुञ्ज भएर जाने महाकाली तेस्रो चरणको नहरमा वन्यजन्तुमैत्री संरचना बनाइएका छन्। 

महाकाली तेस्रो चरणको परियोजनासँग समन्वय गरी वन्यजन्तुलाई ओहोरदोहोरका लागि नहरमाथि भएर जाने बाटो (ओभर पास) बनाइएका छन। ‘नहर निकुञ्ज क्षेत्रको झण्डै चार किलोमिटर क्षेत्र भएर गएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा मगरले भने,  ‘तीन तीन सय मिटरको दूरीमा वन्यजन्तुलाई निकुञ्जको उत्तर दक्षिणतर्फ ओहरदोहर गर्नका पाँचवटा ओभर पास निर्माण गरिएका छन्।’

वन्यजन्तुको बढी ओहोरदोहोर हुने क्षेत्रको पहिचान गरी ओभर पास निर्माण गरिएका छन्। नहरमा फसेर वन्यजन्तुको मृत्यु हुने समस्यालाई समाधान गर्न परियोजनासँग सहकार्य गरी ठाउँठाउँमा पानी पिउने व्यवस्था गरिन लागेको अधिकृत पूर्जामगरले बताए। 

उनका अनुसार पूर्व–पश्चिम राजमार्गको अर्जुनीदेखि चम्फापुरसम्मको निकुञ्ज क्षेत्र भएर जाने सवारी साधनको ठक्कर लागेर चालु आर्थिक वर्षमा नौवटा संरक्षित जनावरको मृत्यु भएको छ। ‘वन्यजन्तुलाई ओहरदोहर गर्ने ठाउको अभाव हुदा राजमार्गमा सवारी साधनको ठक्कर लागेर मृत्यु हुने गरेको छ,’ उनले भने, ‘त्यस समस्यालाई निराकरण गर्नका लागि वन्यजन्तु संरचना निर्माणमा जोड दिइनुपर्छ।’

वन्यजन्तुमैत्री संरचना निर्माण नहँुदा मानव र बन्यजन्तुबीचको द्वन्द्व समेत बढ्न थालेको छ। सवारी दुर्घटना समेत यसै कारणले हुने गरेको छ। निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको उत्तर र दक्षिणतर्फ ओहोरदोहोर गर्ने १५ प्रजातिका स्तनधारी जीवजन्तु र सरिसृप छन्।

परम्परागत रुपमा बनाइएका सडक, नहरलगायतका संरचना वन्यजन्तुमैत्री नभएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत अजयविक्रम मानन्धर बताउँछन्। ती संरचनमा सुधार गरी अन्डर र ओभर पास बनाउनुपर्ने उनको सुझाव छ। 

विदेशमा भैरहेका विकासका कार्यमा वन्यजन्तु र वातावरणमैत्री संरचना निर्माणलाई पहिलो प्राथमिकतामा राखिने गरिन्छ। त्यसको अनुसरण गर्दै विकास निर्माणका कार्यलाई अगाडी बढाइनुपर्ने उनको भनाइ रहेको छ।

‘वन्यजन्तुमैत्री संरचना बनाइँदा प्राकृतिकजस्तै लाग्नु पर्छ,’ उनले भने, ‘त्यसो भए मात्रै जिवजन्तुले ओहोरदोहोर गर्छन्।’

हिँड्ने जैविक बाटोमा अवरोध भए जनावरले आक्रमण गर्ने गरेको समेत पाइएको उनले बताए। वन्यजन्तुमैत्री संरचना निर्माण नहुँदानै मानव र वन्यजन्तुबीचको द्वन्द्वले प्रश्रय पाउदै आएको छ। वन्यजन्तु हिँडने बाटो अतिक्रमण गरी आवादी गर्ने, भौतिक संरचना निर्माण गर्ने कार्यले पनि द्वन्द्व निम्तिने जानकारहरु बताउँछन्। 

महाकाली तेस्रो आयोजना कार्यालयका प्रमुख रणबहादुर बम वन क्षेत्रमा बन्ने नयाँ संरचनामा वन्यजन्तुमैत्री बनाउने कार्यलाई प्राथमिकतमा राखिएको बताउँछन्।

‘निकुञ्ज क्षेत्र भएर जाने नहरका ठाउँठाउँमा ओभर पास बनाएका छौं,’ उनले भने, ‘निकुञ्ज कार्यालयको सहकार्यमा जिवजन्तुलाई  पानी पिउनका लागि समेत व्यवस्था गर्नमा लागेका छौं।’ वन्यजन्तु र जैविक विधिताको संरक्षण गरेमा मात्रै मानव जीवन समेत सम्भव भएको उनको भनाइ छ। 

राष्ट्रिय वातावरण नीति २०७६ ले समेत भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणमैत्री र वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिएको छ। वातावरण संरक्षण ऐन २०५३ तथा वातावरणीय प्रभाव नियमावली २०५४ ले वातावरण संरक्षणका लागि कानुनी आधारहरु प्रदान गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.