|

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

समग्रमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट मंगलबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा सार्वजनिक गरेका हुन्।

जसमध्ये पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार रहेको छ।

वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार छ। सार्वजनिक गरिएको बजेटको स्रोत व्यवस्थापनका लागि सरकारले ६० करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको छ।

त्यस्तै, केन्द्र सरकारबाट समपूरक अनुदानबापत ८१ करोड ३५ लाख, विशेष अनुदानबापत ६१ करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ। सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ।

कुल ५९ प्रतिशत पूर्वाधारमा केन्द्रित बजेटले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ। जसमा कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरिएको छ।

कृषिमा आकर्षक योजना, किसानलाई सुनको हलो

कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रको सुधारका लागि आकर्षक योजनाहरु घोषणा गरेको छ। किसानलाई सुनको हलोअंकित तक्माबाट सम्मानदेखि कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्ने लगायतका कार्यक्रमका लागि बजेट छुट्याएको छ।

उत्कृष्ट एक जना कृषकलाई सुनको हलोअंकित तक्माबाट सम्मान र दुई सय कृषकलाई पुरस्कृत गर्न ४० लाख बजेट विनियोजना गरिएको छ। प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि अध्ययन, अनुसन्धान र विकास गर्ने उद्देश्यले सुर्खेतको दशरथपुरमा प्रदेश कृषि अनुसन्धान निर्देशनालय सञ्चालन गर्ने घोषणा गरिएको छ।

घाइते-अपांगलाई मासिक दुई हजार भत्ता

कर्णाली प्रदेश सरकारले विभिन्न आन्दोलनमा मृत्यु भएका शहिद परिवार, घाइते र अपांग परिवारका लागि राहतका कार्यक्रम पनि ल्याएको छ। अब शहिद परिवारले मासिक दुई हजार भक्ता पाउनेछन्। जनआन्दोलन, जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनको क्रममा घाइते, अपांग भएका व्यक्तिहरूलाई पनि अधिकतम मासिक दुई हजार जीवन निर्वाह भत्ता पाउने छन्।

प्रदेश अस्पतालमा एमआरआई किन्न बजेट

प्रदेश अस्पताल सुर्खेतमा एमआरआई खरिदका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। एमआरआई नहुँदा जटिल बिरामीको उपचार यहाँ सम्भव छैन।

तसर्थ अब प्रदेश सरकारले कर्णालीमा यसको व्यवस्थापन गर्न लागेको हो। प्रदेश अस्पतालमा एमआरआई उपकरण र अन्य जिल्लाका लागि अन्य मेडिकल औजार तथा उपकरण खरिदको लागि १३ करोड ९५ करोड बजेट विनियोजना गरिएको छ।

प्रयोगशाला स्थापनाको लागि ३ करोड

प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन लागि तीन करोड ३५ लाख बजेट विनियोजना गरेको छ। वीरेन्द्रनगरमा उच्च क्षमताको अक्सिजन प्लान्ट, सबै जिल्ला अस्पतालहरुमा मिनी अक्सिजन प्लान्ट, प्रदेश अस्पताल सुर्खेतलाई पाँचसय, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५०, दैलेख, जाजरकोट, रुकुम(पश्चिम) र सल्यान अस्पताललाई एक सय शैयाको रुपमा स्तरोन्नति जस्ता योजनाका लागि समेत बजेटको विनियोजन भएको छ ।

विश्वविद्यालय संचालन गर्न एक करोड

प्रदेश सरकारले आफ्नै विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षदेखि पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाउनको लागि एक करोड बजेट विनियोजन गरेको छ।

प्रदेशको शिक्षालाई गुणस्तरीय तथा प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक स्थानीय तहमा एकएक वटा नमुना विद्यालय पनि सञ्चालन गर्ने घोषणा गरेको छ। जसका लागि ३९ करोड ५० लाख बजेट छुट्याएको छ।

कोरोनाले अवरुद्ध शिक्षा निरन्तर गर्न ५० लाख

प्रदेश सरकारले कोरोना महामारीका कारण अवरुद्ध शिक्षण सिकाइलाई निरन्तरता दिन शैक्षिक प्रतिकार्य योजनाका लागि एक करोड ५० लाख बजेट छुट्याएको छ। विशेष शिक्षा कार्यक्रम सञ्चालनका लागि एक करोड र बाल विकास सहयोगी शिक्षक प्रोत्साहन कार्यक्रमका लागि दुई करोड ७२ लाख बजेट विनियोजन समेत गरेको छ।

खेलकुदमा ५९ करोड

खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि आकर्षक बजेट विनियोजना गरेको छ। आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखि सरकारले ५९ करोड बजेट विनियोजना गरेको हो।

अन्य पूर्वाधार क्षेत्रमा पर्यटकीय क्षेत्रको विकासका लागि २३ करोड १५ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९६ करोड रकम र सडक सुदृढीकरण कार्यक्रमका लागि ७ अर्ब २९ करोड बजेट छुट्याइएको छ।

जलविद्युतमा ५० करोड शेयर लगानी

कर्णाली प्रदेश सरकारले जलविद्युत आयोजनामा ५० करोड शेयर लगानी गर्ने घोषणा गरेको छ। फुकोट कर्णाली, जगदुल्ला जलविद्युत आयोजना, ताक्सुगाड जलविद्युत आयोजना र भेरी बबई ड्राइभर्सन आयोजनामा शेयर लगानीका लाग ५० करोड बजेट विनियोजना गरिएको हो।

प्रदेशको समृद्धिका टेवा पुर्‍याउने र दीर्घकालीन मुनाफा लिने उद्देश्यले जलविद्युतमा लगानी गर्ने घोषणा गरेको हो। यस्तै, उर्जा विकास एवम् ग्रामीण विद्युतीकरण कार्यक्रमका लागि ४२ करोड ३१ लाख, सिँचाइ तथा नदी नियन्त्रण कार्यक्रमका लागि ६८ करोड ७४ लाख, शहरी पूर्वाधार र बस्ती विकास कार्यक्रमका लागि ४० करोड बजेट विनियोजन गरेको छ।

गाईभैसी खरिद लागि १५ करोड ७० लाख

कर्णालीका १० वटै जिल्लाका स्थानीय तहमा गोठ सुधार तथा गाईभैसी खरिद कार्यक्रमका लागि १५ करोड ७० लाख रकम विनियोजन गरिएको छ। सिंचाई तथा पोखरी निर्माणका लागि नौ करोड ८८ लाख, कुलो निर्माणका लागि २९ करोड, एक स्थानीय तह, एक कृषि उपज कार्यक्रमका लागि २१ करोड ६० लाख, सहकारी सुधारका लागि एक करोड ६५ लाख बजेट छुट्याइएको छ।

 भेडाच्याङ्ग्रा पाल्ने कृषकलाई वार्षिक १२ हजार रुपैयाँ

हिमाली क्षेत्रमा ५० भन्दा बढी भेडाच्याङ्ग्रा पाल्ने कृषकलाई वार्षिक १२ हजार रुपैयाँ दिने कर्णाली सरकारले घोषणा गरेको छ। साथै दुई सिजन ताजा तरकारी खेति गर्ने किसानलाई प्रति रोपनी पाँच हजारका दरले प्रोत्साहन अनुदान, खडेरीबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन दुई करोड ३१ लाख रकम विनियोजन गरिएको छ।

जडिबुटी उद्योग स्थापनका लागि ५ करोड

प्रदेश सरकारले छिन्चुमा जडिबुटी प्रशोधन उद्योग स्थापनका लागि पाँच करोड रकममो विनियोजन गरेको छ। कृषि उद्योगलाई ५० प्रतिशतसम्म विद्युत महशुलमा छुट, मापदण्ड पुरा गरेका १० टन क्षमताभन्दा साना कोल्ड रुम, कृषक तथा सहकारीलाई पाँच लाखसम्म अनुदान र रुकुमपश्चिमको चौरजहारी, सुर्खेतको बोटेचौर, वीरेन्द्रनगर, दशरथपु र दैलेखको दैलेख बजारमा मिनी कोल्डस्टोर निर्माण गर्ने घोषणा पनि बजेटमा गरिएको छ।

दन्त उपचार सेवा तथा देश दर्शन

प्रदेश सरकारले कर्णालीका ज्येष्ठ नागरिकलक्षित गरी प्रदेश प्रमुख दन्त उपचार सेवा तथा देश दर्शन कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ। साथै, सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित गरिने बताएको छ।

त्यस्तै, प्रदेशको विकास र उन्नतिका लागि स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई आकर्षण गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरी लगानीमैत्री वातावरण तयार गरिने बताएको छ।

प्रदेश महत्वका उच्च प्रतिफल दिने ठूला आयोजना पहिचान गरी ती आयोजनामा स्वदेशी निजी तथा वैदेशिक लगानी आकर्षण गर्न उपयुक्त समयमा लगानी सम्मेलनको आयोजना गर्नको लागि आवश्यक बजेटको विनियोजन गरिएको छ।

त्यसैगरी पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, बैंक खाता छोरीकोः सुरक्षा जीवन भरिको, मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, मुख्यमन्त्री दलित, आयआर्जन कार्यक्रम छाउपडीमुक्त अभियान सञ्चालन, प्रदेश कला गौरवबाट विभूषित र प्रत्येक घर स्वरोजगार कार्यक्रम, जनता सडक कार्यक्रमजस्ता पुराना नै समावेश गरिएको छ।

अन्य समावेश कार्यक्रमहरु

बिउ पूँजी,

कर्णाली सौगात गृह,

सीपसँग सहयोग कार्यक्रम,

मेक इन कर्णाली,

दिगो वन व्यवस्थापनः स्वच्छ, स्वस्थ र समृद्ध जीवनयापन,

हरित रोजगारी अभिवृद्धि,

प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्ने,

जलवायु अनुकूलित गाउँ,

यसपालि घुमौं कर्णाली,

एक जिल्ला एक पर्यटकीय क्षेत्र,

एक घर एक धारा,

विद्युत् विकास कम्पनी,

फुकोट कर्णाली र जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना,

भेरी बबई बहुउद्देश्यीय आयोजनामा,

ताक्सुगाड जलविद्युत आयोजना,

टार सिँचाइ आयोजना,

एक जिल्ला एक आर्थिक शहर,

विपन्नको घर कार्यक्रम,

हाम्मा कुडा हाम्मा मुख्यमन्त्री,

कर्णाली सेवा पुरस्कार,

समृद्ध कर्णाली, सुखारी कर्णालीबासी,

मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम,

मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम,

किशोरी क्लब,

छाउपडीमुक्त अभियान,

प्रदेश कला गौरव,

प्रत्येक घर स्वरोजगार,

कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली,

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.