|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व-प्रधानमन्त्री झलनाथ खनालले देशको बिथोलिएको राजनीतिक अवस्थाले चिन्तित बनाएको बताएका छन्। उपचारको लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल जानुअघि विज्ञप्ति जारी गर्दै खनालले राजनीतिक दलहरु विवाद र ध्रुविकरणको विभाजन तर्फ उन्मुख हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था रहेको बताए।

खनाल जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो। त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्दछ।’

उनले सबै दल  एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्न आग्रह गरे। शहीद, योद्धाहरुको बलिदान र त्यागबाट बनेको नेकपा एमालेमा जनताको चाहना र अपेक्षाविपरीत बदलाको भावना र इगोका कारण गम्भीर संकट उत्पन्न भएको खनालले बताएका छन्।

 एकता सफलताको बाटो र फुट विनास भएको उल्लेख गर्दै खनालले रिस, राग, अहंकार र बदला भाव त्यागेर पार्टीका वैधानिक प्रकृयाअन्तर्गत फुटबाट जोगाउन तथा एकताबद्ध पार्न नेता एवम कार्यकर्तालाई अनुरोध गरे। उनले पार्टीलाई फुटतर्फ धकेल्ने नभई धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न सके सिङ्गो राष्ट्रको नेतृत्व गर्न सफल रहने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.