|

काठमाडाैं : १६ औं संस्करणको युरोकप फुटबलमा आज इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।

खेल इटालीको रोमस्थित स्टाडियो ओलम्पिको मैदानमा मध्यराती पौने १ बजे सुरु हुनेछ। समूह ए मा इटाली ३ अंक सहित शीर्ष स्थानमा छ। पहिलो खेलमा उसले टर्कीलाई ३–० ले हराएको थियो।

स्विट्जरल्याण्डको १ अंक छ। आजको खेलमा इटालीलाई केही सहज हुनेछ। इटाली अघिल्लो खेलको जितले आत्मविश्वास बढाउँदै सुखद नतिजाको पर्खाइमा हनेछ। यद्यपि स्विट्जरल्याण्ड भने दबाबमा रहने छ। जितले अर्को चरणको बाटो सहजै उघारिने बाटो बन्नेछ भने हारले अरुको खेलमा पनि निर्भर रहनुपर्नेछ।  यसैगरी बराबरीले पनि अर्को चरणमा जाने सम्भावना जीवित रहनेछ।

इटाली विश्व वरीयताको सातौं स्थानमा रहेको छ भने स्विट्जरल्याण्ड १३ औँ स्थानमा छ। स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा छ। उसले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो। इटाली र स्विट्जरल्याण्डबीच ५७ पटक प्रतिस्पर्धा हुँदा इटालीले २८ पटक जित हाँसिल गरेको छ भने ७ खेल हारेको छ। २२ खेल बराबरीमा सकिएको छ।

यही समूह ए मा रहेका वेल्स र टर्कीबीच पनि आजै प्रतिस्पर्धा हुदैछ। खेल राति पौने १० बजे अजरबैजानको बाकुमा हुनेछ। पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्स टर्कीलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ।

समूहमा अंकविहीन रहेको टर्की अर्को चरणमा जान जितका लागि प्रयासरत हुनेछ। आजको खेलमा पराजित भए उसको अर्को चरणमा जाने सम्भावना लगभग सकिने छ। बराबरीले अरुको खेलमा निर्भर हुनुपर्नेछ।

फिफा वरीयतामा वेल्स १७ औँ स्थानमा रहेको छ भने टर्की भने २९ औं स्थानमा छ। वेल्स र टर्कीबीच ६ पटक खेल हुँदा ३ पटक वेल्सले र २ पटक टर्कीले खेल जितेको छ। एक खेल बराबरीमा सकिएको छ।

यसअघि आजै हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ। समूह ’बी’ मा रहेको यी दुई टोलीबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ। अघिल्लो खेलमा डेनमार्कलाई हराएर आएको फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ।

३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा छ। उपाधिकै दाबेदार बेल्जियमसँग ३ –० ले हारेको रुस पनि आज पहिलो जितको खोजीमा हुनेछ। अर्को चरणमा जान रुसलाई जितको विकल्प छैन। फिनल्याण्डलाई बराबरीले पनि अर्को चरणको ढोका उघारिने सम्भावना छ। रुस र फिनल्याण्डबीच भएको ४ प्रतिस्पर्धामा सबै खेल रुसले जितेको छ।

युरोकप युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको छ। गएरातिका खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित हुँदा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो।

पोर्चुगलका क्रिस्चियानो रोनाल्डोले लगातार ५ वटा युरोकपमा सहिभागिता जनाउँदै युरोकपमा सबैभन्दा बढी गोल गर्ने कीर्तीमानी बनाएका छन्। सन् २००४ देखिको युरोकपबाट खेल्न थालेका उनले ११ गोल गरिसकेका छन्। गएराति हंगेरीविरुद्ध २ गोल गरेका उनले फ्रान्सका मिचेल प्लाटिनीको ९ गोलको कीर्तिमानी भंग गरेका हुन्।

प्रत्येक समूहबाट समूहका विजेता र उपविजेता अर्को राउण्डमा प्रवेश गर्नेछन्। जसमा १२ वटा मात्र टिमको टुंगो लाग्नेछ। बाँकी ४ टिम भने ६ वटा समूहका तेस्रो हुने उत्कृष्ट चार टिमले प्रिक्वार्टरफाइनलमा प्रवेश पाउनेछन्।

यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्रले मात्र खेलिरहेका छन्। सन् २००४ को युरो विजेता ग्रीस भने यसपटक युरोकपमा स्थान बनाउन असफल रह्यो। १६ संस्करणसम्मको युरोकपमा जर्मनी र स्पेनले ३–३ संस्करण जित्दा फ्रान्सले २ पटक उपाधि आफ्नो पक्षमा पारेको छ।

इटाली , पोर्चुगल , नेदरल्याण्ड, डेनमार्क , ग्रीस ,चेक गणतन्त्र र सोभियत संघले एक –एक पटक युरोकप जितेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.