हरेक वर्ष आश्वासन, पीडितको उही हाल

|

काठमाडौ : गत वर्ष  सिन्धुपाल्चोक जिल्लाले  ठूलो मानविय क्षति बेहोर्‍यो। यसो त हरेक वर्ष  मनसुन सुरु भएसँगै  सिन्धुपाल्चोकले विपत्तिको सामना गर्नुपरेको छ।  यस वर्ष पनि मनसुनको सुरुवातमै  सिन्धुपाल्चोकमा ठूलो क्षति भएको छ। 

मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीले  भौतिक तथा मानवीय क्षति भएको छ। बाढीमा परी २ जनाले ज्यान गुमाए भने ७ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।  

गत वर्ष २३ असारमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ५, जम्बु गाउँ नै बाढीले बगाएको थियो। गाउँ बगाउँदा १९ जना बेपत्ता भए। जसमध्ये २ जनाको शव फेला पर्‍यो। १७ जना बेपत्ताको सूचीमा रहे। ३० साउनमा फेरि सिन्धुपाल्चोकको जुगल गाउँपालिको लिदी– २ मा पहिरोले २९ वटा घर पुरियो।

पहिरोमा परी ३९ जनाले ज्यान गुमाउनुका साथै धेरै मानिस घाइते भए। पहिरो गए। लगत्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टर चढेर  सिन्धुपाल्चोक पुगे। पहिरो पीडितलाई क्षतिपूर्तिको आश्वासन दिएर फर्किए। 

सरकारले पहिरो पीडितलाई क्षतिपूर्तिको आश्वासन दिएको एक वर्ष पूरा भयो। तर, पीडितले जस्तापाताको छानोमुनि बस्न पाएका छैनन्। पहिरोलगत्तै त्रिपालमुनि बनेका लिँदीबासी हालसम्म सोही पालमुनि बस्न बाध्य भएका छन्। पहिरो पीडित पासाङ तामाङ भन्छन्, ‘सरकारले क्षतिपूर्ति दिने भनेको थियो, हालसम्म कुनै सहयोग भएको छैन।’

लिदी बस्ती पहिरोको उच्च जोखिममा रहेकाले बस्ती स्थानान्तरण गर्ने भनिएको थियो तर हालसम्म उक्त बस्ती स्थानान्तरण हुन पनि सकेको छैन। उनी भन्छन्, ‘एक वर्ष भयो त्रिपालमुनि बसेको, हिउँद महिना त जसोतसो बित्यो। अब त दिनदिनै पानी मात्रै पर्छ त्रिपालले पानी कसरी छेक्ला र?’

गत वर्ष नै संघीय सरकारले गत वर्षको बाढी र पहिरोमा परेर आफन्त गुमाउने, तथा घरबारविहीन भएकाको परिवारलाई जनही एक लाख किरिया खर्च घर निर्माणका लागि जग्गाबापत तीन लाख र निर्माणका लागि पाँच लाख दिने निर्णय गरेको थियो।

तर, उक्त रकम उनीहरूले अझै पाएका छैनन्। पहिरोपीडित परिवारले लाभग्राहीका आधारमा सरकारी राहत पाउने हुनाले  ढिलाइ भएको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताए। 

१७ लाख मानिस प्रभावित हुने सरकारको अनुमान, छैन कुनै पूर्वतयारी 

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको बर्खाको मनसुनबाट देशभरका झण्डै १७ लाख मानिस प्रभावित हुने अनुमान छ।

बाढी र पहिरो तथा मनसुनजन्य प्रकारको विपदबाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान गरेको हो। बाढी पहिरोबाट बँच्न सरकारले पूर्वतयारीका काम भने गर्न सकेको छैन।   

बाढी पहिरोबाट जोगिन प्राधिकरणले सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, कालीकोट, स्याङ्जा, म्याग्दी, बाग्लुङ गरी ९ जिल्लाका अति जोखिमयुक्त ३६ स्थानीय तहमा पहिरो प्रभावमा आधारित मनसुन पूर्वसूचना प्रणालीको विकास भने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.