मानिसमानिसबीच सम्पर्क विच्छेद, अर्बाैंको नोक्सानी

|

सिन्धुपाल्चोक‍ : २०७१ सालको जुरे पहिरोदेखि लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोक जिल्लामा यस वर्ष पनि वर्षायामको सुरुवातमै ठूलो विपत्ति आइलाग्यो।

७१ सालमा जुरे पहिरोपछि शुरु भएको विपद्को श्रृङ्खला यस वर्ष पनि दोहोरिएको हो। जुरे पहिरोपछि ७२ सालको महाभूकम्पमा देशभरमा भएको मृत्यु संख्याको आधा संख्या सिन्धुपाल्चोकमा मात्रै भयो।

त्यसपछि पनि भोटेकोशी बाढी, जम्बु पहिरो, लिदी पहिरोलगायत दर्जनौं विपत्तिको सामना गरेको सिन्धुपाल्चोक जिल्लालाई नेपाल सरकारले गत वर्ष विपद् जिल्ला समेत घोषणा गरिसकेको छ।

प्रायः बर्खामासको मध्यतिर वा अन्त्यतिर मात्रै विपद् भोग्ने गरेको सिन्धुपाल्चोकले यस वर्ष भने बर्खामासको सुरुवातमै मेलम्ची बाढीको ठूलो विपत्तिको सामना गर्नुपरेको छ।

मंगलबार साँझबाट आएको मेलम्ची र इन्द्रावती खोलाको बाढीले सिन्धुपाल्चोकमा अबौंको क्षति पुगेको छ। हेलम्बु गाँउपालिका हुँदै बग्ने मेलम्ची खोला र पाँचपोखरी गाउँपालिका हुँदै बग्ने इन्द्रावती खोलामा आएको बाढीले ८ जनासहित अर्बौंको भौतिक क्षति गरायो। 

बाढीमा हेलम्बु गाउँपालिकाबाट बगाएका ७ जना बेपत्ता भएका छन्। मेलम्ची खानेपानी आयोजनामा कार्यरत १ जना चिनियाँ नागरिकको शव फेला परेको छ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।

बाढीले मेलम्ची नगरपालिकाको मेलम्ची बजारको ४४ घर डुबानमा परेको छ भने एक सय ५० परिवार विस्थापित भएका प्रारम्भिक तथ्यांक छ। मेलम्चीमा छ सय जना मानिस विस्थापित भएका मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले जानकारी दिइन्। उनीहरुमध्ये तीन सय जनालाई इन्द्रेश्वरी माध्यमिक  विद्यालयमा र बाँकी तीन सयलाई कालीजंग गणको ब्यारेकको प्रांगणमा टेन्ट हालेर व्यवस्थापन गरिएको छ।

बाढीले हेलम्बु गाँउपालिकाको किउल, तिम्बु, ग्याल्थुम र चनौटेमा गरी एक सय ३३ घरमा पूर्ण क्षति गरेको छ। सो क्षेत्रमा विस्थापित भएका परिवारहरुका लागि एक सय थान टेन्ट जिल्ला विपद् व्यवस्थापन समितिको गोदामबाट व्यवस्थापन गरी नेपाली सेनाको हेलिकप्टरबाट केही सेना र प्रहरीसहित हेलम्बु लगिएको छ।

बाढीपहिरो बढेपछि चर्चित मेलम्ची–इन्द्रावती नदी करिडोरका दर्जनौँ बस्ती एक्लिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट टाढिएका हुन्। बाढी सुरु भएसँगै मंगलबार साँझदेखि बिजुली बत्ती छैन। सबैका मोबाइल फोन स्विच अफ छन्। सञ्चारका कुनै साधनले काम गरेका छैनन्।

बाढीले हेलम्बु तथा मेलम्ची क्षेत्रका धेरै व्यापारीको अर्बौंको क्षति भएको छ। ट्राउट माछाको हबको रुपमा चिनिने मेलम्ची नदीका ८ भन्दा धेरै ट्राउट फर्ममा पूर्ण रूपले क्षति पुगेको छ। 

किउलमा रहेको भण्डारी ट्राउटबाट तीन जना कर्मचारीसमेत बेपत्ता छन्। एउटा फर्मको लागत तथा रहेका माछाको मूल्य पाँच करोडका हिसाबले मूल्याङ्कन गर्दा कम्तीमा ५० करोड रुपैंया क्षति आकलन गरिएको छ।

त्यस्तै धेरै व्यापारीको गोदाम सहितको पसल डुबानमा पर्दा अर्बौं रकमको क्षति भएको छ। मेलम्ची बजारको ४४ घर डुबानमा परेको छ। त्यसको पनि १ अर्बभन्दा बढी मूल्याङ्कन हुने अनुमान गरिएको छ।

हेलम्बु राजमार्ग अवरुद्ध छ। हेलम्बु राजमार्गको मेलम्चीदेखि माथी विभिन्न स्थानमा सडक अवरुद्ध बनेको छ। मेलम्ची नगरपालिकालाई जिल्ला सदरमुकाम चौतारा जोड्ने पक्की पुल पूर्ण क्षति भएको छ।

सोसँगै रहेको झोलुङ्गे पुलसमेत बगाएको छ। मेलम्ची बजारबाट पाल्चोक जोड्ने पक्की पुलसमेत बगाएको छ। नदी र राजमार्ग आसपासका दर्जनौं बस्ती जोखिममा रहेका छन्। सुरक्षित स्थलका स्थानीय घरभित्रै थुनिएका छन्। नदी किनारका स्थानीयलाई ज्यान जोगाउनै धौ छ। त्यहाँ भागदौड छ। उनीहरुलाई त्रास, भोक र शोकले नराम्ररी निमोठेको छ।

इन्द्रावती पुल भत्किँदा पाँचपोखरी थाङपाल गाउँपालिका आउजाउ गर्ने बाटो छैन। सँगैको झोलुङ्गे पुल, अलिमाथिको दोभान र फट्टेका झोलुंगे पुल चुडिँदा पैदल हिँड्ने विकल्प पनि बाँकी रहेन।

दुबाचौर जोड्ने पक्की पुल पनि बाढीले बगाएको छ। मेलम्ची, लार्के, यांग्री र इन्द्रावती नदीले स्थानीयलाई घेरेर राखेको छ। बाढी प्रभावित क्षेत्रबारे यकिन खबर समेत प्राप्त हुन सकेको छैन। पल्लो–पल्लो गाउँबीच नै सम्पर्क विच्छेद छ। तलमाथिको जनसम्पर्क टुटेको छ। सबै थुनिएर बसेका छन्।

हेलम्बु गाउँपालिकाको केन्द्रबाट मेलम्चीघ्याङ जोड्ने निर्माणाधीन पक्की पुलसमेत क्षति भएको छ। ग्रामीण सडक जोड्ने पक्की र झोलुंगे पुलसमेत बगेपछि हेलम्बुवासी नजरबन्दमाझैं छन्।

‘सडक र सञ्चार सम्पर्क टुट्दा बाढीप्रभावित क्षेत्र सबै कुराबाट टाढिएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले भने, ‘वास्तविक जनधनको क्षतिबारे अझै बेखबर छौँ।’

बाढी प्रभावित क्षेत्रमा रहेका सुरक्षाकर्मी र सरकारी निकायसँगै सम्पर्क हुन नसकेको उनले बताए। खनालका अनुसार सडक र सञ्चार सम्पर्क टुटेकै कारण घाइतेको उद्धार, बेपत्ताको खोजी, राहत वितरणलगायत काम प्रभावकारी हुन सकेको छैन। वर्षा र खराब मौसमका कारण हेलिकप्टर परिचालन पनि सम्भव भइरहेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.