|

सुर्खेत : कर्णाली सरकारले विपद्‌ प्रतिकार्य गर्न १० करोड रुपैयाँ बजेट छुट्याएको छ।

प्रदेश विपद्‌ व्यवस्थापन परिषद्को कोषमा तत्काल १० करोड रुपैयाँ राख्ने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनीमन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन्। उक्त रकम विपद्‌ प्रतिकार्य निम्ति आवश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनमा खर्च गरिने बताइएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद्‌ व्यवस्थापन परिषद् बैठक बसेको थियो। विपद्‌ न्युनीकरणमा जुट्न सबै स्थानीय तहहरूसँग समन्वय गरेर अघि बढ्ने निर्णय बैठकले गरेको छ।

४ दिनअघि नेपाल प्रवेश गरेको यस वर्षको मनसुन सक्रिय भएसँगै पानी लगातार पर्दा कर्णाली प्रदेशको सुर्खेतलगायत छिमेकी जिल्लाहरू बाढीपहिरोको उच्च जोखिममा रहेको जनाउँदै बैठकले प्रदेश नागरिकलाई सर्तक रहन आग्रहसमेत गरेको छ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित सिम्ता, भुप्रा, चिंगगाड, खहरे, गोछे, इत्राम, खोर्के, निकास खोला, भेरी तथा कर्णाली नदीको तटीय क्षेत्र आसपासमा बाढीपहिरोको उच्च जोखिम देखिएको छ।​

गोदाममा छैन राहत र उद्धार सामग्री

यस वर्ष पनि असार लागेसँगै निरन्तर वर्ष हुँदा गतवर्ष जस्तो विपत्ति आउन नदिन विपद्‌ न्यूनीकरणका लागि सरकारले तयारी थालेको हो। तर, मनसुन सक्रिय भइरहँदा राहत, उद्धार र व्यवस्थापनका सामग्री भण्डारण भने गरिएको छैन।

‘विपद्‌ व्यवस्थापनका सामग्री भण्डारण गर्नका लागि गोदाम घर त तयार छ,’ आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले भने, ‘गोदाममा राहत र उद्धार लागि चाहिने सामग्री कुनै पनि  छैनन्‌।’

पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन निर्देशन

बाढी पहिरोको जोखिममा रहेका बस्तीमा बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।

मन्त्रालयले सम्बन्धित जिल्ला र स्थानीय तहसँगको समन्वयमा बाढीपहिरोको जोखिममा रहेको बस्तीमा प्रभावकारी सूचना प्रवाह गर्नेछ।

सडक–सडकमा डोजर पठाइयो

बर्खायाममा बाढी र पहिरोले सडक अवरुद्ध हुनसक्ने भन्दै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समन्वयमा मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।

कर्णाली राजमार्ग, छिन्चु–जाजरकोट सडक खण्ड र राप्ती लोकमार्गमा डोजर तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो।

मन्त्रालयले ती सडक खण्डमा सडक डिभिजन कार्यालयहरू र सम्बन्धित विपद्‌ व्यवस्थापन समितिको समन्वयमा डोजरहरू राख्ने जनाएको छ।

वडास्तरमा तालिमप्राप्त स्वयंसेवक परिचालन

विपद्‌ व्यवस्थापन परिषद् बैठकले क्षति कम गर्न वडास्तरमा स्वयंसेवक परिचालन गरिने निर्णय गरेको छ।

सम्बन्धित स्थानीय तहको समन्वयमा खोलाको किनार, बगर र पहाडी इलाकाहरूमा बस्तीहरूलाई बाढी आउनुपूर्व नै बस्ती छोड्न सूचित गरिने बताइएको छ. स्वयंसेवकहरूलाई नेपाल प्रहरीले उद्धारको तालिम दिनेछ।

साथै, विपद्‌मा घटनास्थलमै पुगेर उपचार गर्नको लागि स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।

मन्त्रालयले सम्बन्धित जिल्ला, स्थानीय तह र प्रदेश अस्पतालसँग समन्वय गरेर स्वास्थ्यकर्मी घटनास्थलमै पठाउने छ। स्वास्थ्यकर्मी परिचालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिइनेछ।​

विपद्‌ प्रतिकार्यमा खटिन निर्देशन

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद्‌ प्रतिकार्यमा खटिने मातहतका निकायलाई निर्देश गरेका छन्।

बुधबार प्रदेश विपद्‌ व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन्।

बर्खायाम शुरू भएसँगै बाढी पहिरोको जोखिम बढेका कारण विपद्‌ प्रतिकार्यमा खटिन निर्देशन दिएका हुन्। विपद्‌ जोखिम क्षेत्रमा बसोवास गरिरहेका नागरिकहरूलाई सचेत गर्न र अस्थायी रूपमा सुरक्षित ठाउँमा बसोवास सार्ने व्यवस्था मिलाउनसमेत मुख्यमन्त्री शाहीले निर्देशन दिएका हुन्।

कर्णालीमा बाढीको उच्च जोखिम, सतर्क रहन प्रशासनको आग्रह

सुर्खेतका विभिन्न क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सचेत रहन प्रशासनले आग्रह गरेको छ।

जोखिमयुक्त स्थानमा बसोबास गर्ने समुदायले सतर्कता अपनाउन तथा कुनै अप्रिय घटना घटेमा स्थानीय वडा, गाउँपालिका, नगरपालिका तथा सुरक्षा निकायमा जानकारी गराउनको लागि अनुरोध गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

देशैभर मनसुन सक्रिय भएसँगै पछिल्ला केही दिनयता कर्णालीसहित अधिकांश भूभागमा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा सुर्खेतमा ४१ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ।

दैलेख, जाजरकोट र हुम्लामा लगातार वर्षा भएको छ। पानी निरन्तर परिरहँदा कर्णाली नदी आसपास, दैलेख, अछाम र कालीकोट लगायत केही क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन सुर्खेत प्रशासनले आग्रह गरेको हो।

तीन वर्षभित्र विपद्‌का कारण ८७ जनाको मृत्यु

३ वर्षभित्र कर्णाली प्रदेशमा बाढी र पहिरोबाट ८७ जनाको मृत्यु भएको छ। 

अघिल्लो आर्थिक वर्षभित्र विपत्तिका कारण २९६ घरमा क्षति पुगेको र करिब एक अर्ब २७ करोड रुपैयाँ बराबरको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उक्त वर्ष पहिरोबाट भने १३८ घरमा क्षति पुग्दा २८ जनाको मृत्यु भएको थियो। ६४ करोड बराबरको क्षति भएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा बाढीबाट सात जनाको मृत्यु भएको छ। करिब २०० घरमा क्षति पुग्दा १३३ परिवार विस्थापित भएका छन्‌। दुई करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।

त्यस्तै चालु वर्षमै पहिरोबाट ५४९ घरमा क्षति हुँदा ४९ जनाको मृत्यु भएको छ। एक हजार ९१३ घरपरिवार विस्थापित भए भने १० करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.