|

सल्यान : मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनेर जनयुद्धमा होमिए भेषबहादुर डाँगी। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्यकर्ता हुँदै प्लाटन कमाण्डरको जिम्मेवारी पाए।  

सेना समायोजन गर्दा योग्य ठहरिएका डाँगी स्वैच्छिक अवकाश रोजेर गाउँ फर्किए। शोषण दमन र अन्यायलाई सधैँका लागि अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिएका डाँगीलाई समायोजनमा जाँदा धेरैले जागिर नछोड्न सुझाव दिएका थिए। तर, उनी गाउँ फर्किन चाहन्थे। अनि गाउँमा नै केही गर्न चाहन्थे।

अवकाश हुँँदा पाएको केही पैसाले आफ्नै गाउँ कालीमाटी गाउँपालिका-४ मा बाख्रापालन गर्ने सोच बनाए।  सोचलाई व्यवहारमा उतार्न उनले व्यावसायिक बाख्रापालन सुरु गरे।  ७ वटा बाख्राबाट व्यावसाय सुरु गरेको डाँगीसँग अहिले साना ठूला गरेर ४५ वटा बाख्रा छन्। कृषि पेशामै भविष्य देखेका उनले सल्यानकै नमुना कृषक बन्ने लक्ष्य राखेको बताए।

अन्याय र अत्याचारविरुद्ध युद्ध लडेका उनले अब आर्थिक समृद्धिका लागि लड्ने बताए। ‘देश एउटा नयाँ मोडमा प्रवेश गर्‍यो। कति साथीहरू सन्तुष्ट छन्, कति छैनन्’, उनले भने, ‘एक किसिमको परिवर्तन आइसकेपछि नागरिकले पनि आफ्नो स्तरबाट परिवर्तनको सुरुवात गर्नुपर्छ भनेर व्यवसाय  सुरु गरेको हुँ।’

उनले बाख्रापालनसँगै मौरीसमेत पाल्दै आइरहेका छन्।  ५० घार मौरी पालेका हिमाली बाख्रा र मौरीपालनबाट वार्षिक ४ देखि ५ लाखसम्म आम्दानी गर्दै आइरहेका छन्। उनले भने, ‘बाख्रा र मह बिक्रीबाट वार्षिक ४ देखि ५ लाखसम्म आम्दानी हुँदै आइरहेको छ। सबै खर्च कटाउँदा ३ लाख जति बचत हुने गरेको छ।’

चार जनाको परिवारलाई यहि बाख्रा र मौरीले पाल्दै आइरहेको उनको भनाइ छ। कालीमाटी गाउँपालिका जंगलले घेरिएको पालिका भएकाले पनि बाख्रा र मौरी पालनका लागि निकै सम्भावनायुक्त पालिका भएको उनले बताए।

जंगल नजिकै भएकाले बाख्राका लागि धेरै छुट्टै घाँस रोप्नु नपर्ने उनको भनाइ छ। आम्दानी देखेर अझै हौसिएको बताउँदै उनले अब बाख्रा र मौरी पालनलाई स्तरोन्नति गर्दै लैजान लागेको बताए। झन्डै एक सय बाख्रा अट्न सक्ने खोर निमार्ण गर्ने योजना पनि उनको रहेको छ।

 

 आफैँ कामदार आफैँ मालिक बन्दा छुट्दै खालको आनन्द हुने गरेको उनको भनाइ छ। उनी युवाहरू विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै बसेर पनि पैसा कमाउन सकिन्छ भन्ने एउटा उदाहरण बनेका छन्।

मिहिनेती युवालाई पैसा कमाउन विदेश जानु नपर्ने उनको अनुभव छ। उनले भने ‘मिहिनेत नै गर्नु परे विदेश किन जानुपर्‍यो? स्वदेशमै सानो लगानीबाट पनि राम्रो काम गर्न सकिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.