|

सल्यान : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भन्दै अहिले देशभर निषेधाज्ञा जारी छ। निषेधाज्ञामा हुनेखानेले दुई तीन महिनालाई पुग्ने खाद्यान्न किनेरै जोहो गरी घरभित्रै आनन्दले बसिरहेका छन्।

 हुँदा खानेहरूको जीवन भने दिनप्रतिदिन कष्टकर बन्दै गएको छ। बाहिर काम खोज्न जाऊ त कहाँ जाऊ। नजाऊँ त घरभित्र साँझ बिहानको चुलो केले बाल्ने?

एक दिन मात्रै काम गर्न नपाए चुलो जलाउने समस्या हुने समुदाय झण्डै दुई महिना लामो निषेधाज्ञाले चरम संकटमा परेका छन्। पहिलो चरणको कोरोना भाइरस संक्रमण देखिँदा संक्रमण फैलिएको एक हप्ता नपुग्दै राहत वितरण गर्न तछाडमछाड गरेका स्थानीय तहहरू दोस्रो चरणको संक्रमणमा मौन छन्। कुनै पनि स्थानीय तहले विपन्न र आर्थिक अवस्था कमजोर भएका समुदायलाई एक गेडा खाद्यान्न सहयोग गर्नतिर प्रयास गरेका छैनन्।

निषेधाज्ञाले हुने खाने र हुँदा खानेबीचको दरारलाई झनै ठूलो बनाइदिएको छ। हुँदा खानेहरू दिनप्रतिदिन झनै गरिबीको रेखामुनि पुगिरहेका छन्। जसले उनीहरूको सामाजिक राजनीतिक पहुँच पनि टुट्दै गइरहेको छ।

लामो समयको निषेधाज्ञाले गरिबको नराम्रोसँगै ढाड सेकाएको शारदा नगरपालिका-१ शान्तिनगरका डबलसिंह वादीले बताए। निषेधाज्ञाका कारण घरपरिवार पाल्न निकै समस्या भएको उनको भनाइ छ। उनले भने, ‘काम गर्न जाऊँ भने बाहिर निक्लिन दिँदैन। घरभित्रै बसेर परिवारलाई के खुवाएर पालूँ।’

बालुवा गिट्टी बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेका विपन्न समुदाय अहिले बालुवा गिट्टी नै बिक्री नभएपछि थप मारमा परेका छन्। विकास निमार्णका सबै काम थप्प हुँदा दिनरात नभनी पसिना चुहाएर बनाएको बालुवा गिट्टी नै अहिले बिक्री हुन छाडेको सिर्जना वादीले बताइन्। उनले भनिन्, ‘बालुवा गिट्टी कुटेर साँझ बिहानको छाक टार्दै आइरहेका थियौँ, त्यही पनि बन्द भएपछि छोराछोरीलाई के खुवाएर पाल्ने हो पिरले सताउने गरेको छ।’

निषेधाज्ञाका कारण थोरै मात्रामा बिक्री भए पनि व्यापारीले सस्तोमा किन्ने गरेको उनको दुखेसो छ। ‘प्राय सबैको बिक्री नभएर खोला किनारमा थुपारेर राखेका छौँ। निषेधाज्ञाको मौकाको फाइदा उठाएर व्यापारीहरूले पनि सस्तोमा दिने भए लिन्छौँ नत्र भने लिँदैनौँ भनेर सस्तोमा उठाउने गरेका छन्। जसले दिनभरको परिश्रमको मूल्य नै उठ्दैन’, उनले भनिन्।

'एक ट्याक्टर बालुवा गिट्टी बनाउन पाँच छ जनालाई दुई तीन दिन लाग्छ। दिनको ५० देखि ८० रुपैयाँ मात्र आम्दानी हुन आउँछ। अब दिनको ५० रुपैयाँले कसरी घर खर्च चलाउने?' उनले दुखेसो पोखिन्।

सरकारले बनाइदिएको घर पनि बैंकले लिलाम गर्छ कि भन्ने डर लागिरहन्छ

धितोमा राखेर निकालेको ऋणको ब्याज नै तिर्न समस्या भइरहेको वादीको भनाइ छ। जनता आवास कार्यक्रमअन्तर्गत घर बनाउँदा लिएको ऋणको पैसा बालुवा गिट्टी कुटेर ब्याज तिर्दै आइरहेको भए पनि दुई महिनादेखि ब्याज तिर्न नसक्दा बैंकले लिन्छ कि भन्ने छुट्टै तनाव रहेको उनले बताइन्।

'निषेधाज्ञा खुल्ने बित्तिकै बैंकहरूले पनि ताकेता गर्ने होलान्, आम्दानी शून्य भएको बेला कहाँबाट ब्याज तिर्ने हो ?', उनी सुनाउँछिन्, ‘सरकारसँग हारगुहार गरेर बनाएको घर नै व्याज तिर्न नसक्दा बैंकले लैजान्छ की भन्ने चिन्ताले पनि सताइरहन्छ।’

निर्मला बादीको पीडा पनि उस्तै छ। बालुवा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेको भए पनि अहिले त्यही बालुवा गिट्टी बिक्री नहुँदा छाक टार्न समस्या भएको छ।

खेती गरेर खाऊँ भने एउटा सरकारले बनाइ दिएको घरबाहेक एक टुक्रा जमिन नरहेको निर्मलाले बताइन्। उनले भनिन्, ‘अन्यको त खेतबारी छ र घरभित्र बसिरहेका छन्। हाम्रो त खेतबारीको नाममा एक टुक्रा जमिन पनि छैन। हाम्रो खेतबारी भनेकै यही बालुवा गिट्टी थियो त्यो पनि बन्द भयो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.