|

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाका नौवटै वडामा शनिवार करिब १० हजार जनाको एन्टिजिन परीक्षण गरिँदैछ। नगरपालिकामा कोभिड–१९ संक्रमणको विश्लेषण गर्न एकैपटक यति धेरैको परीक्षण गर्न लागिएको हो।

नगरपालिकाले नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको व्यवस्थापन, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी भक्तपुर र नेपाल स्काउटको समन्वयमा परीक्षण गर्न लागेको हो। परीक्षणको रिपोर्ट तत्काल सार्वजनिक गरिने छ। त्यसका लागि ११ हजार किट नगरपालिकाले व्यवस्था गरिसकेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

समुदायस्तरमा कोरोना परीक्षण गरी संक्रमणको अवस्था विश्लेषण गरिने नगरप्रमुख श्रेष्ठ बताउँछन्। समुदायस्तरमा कोरोनाको संक्रमण कस्तो छ? सुशुप्तरुपमा कोरोना फैलिरहेको छ कि छैन ? संक्रमितहरु टोलटोलमा हिँड्डुल गरिरहेको छन् कि भन्ने जानकारी र यसको निराकरणका लागि महत्वाकांक्षीरुपमा एकै पटक १० हजार जनाको परीक्षण गर्न उनले बताए।

पछिल्लोपटक काठमाडौं उपत्यकामा कोभिड संक्रमण घटेको भन्ने जुन तथ्यांक छ त्यससँग मेल खान्छ कि खाँदैन भन्ने पनि जानकारी पाइने नगरप्रमुख श्रेष्ठ बताउँछन्। परीक्षणको अनुसन्धानकर्ता वैज्ञानिकहरुले पनि अध्ययन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए। 

हाल उपत्यकामा कोरोना संक्रमण घटेको भनेर लकडाउन हटाउने तयारी भइरहेको अवस्थामा मिल्ने नमिल्ने वा कुन तहसम्म जान सकिन्छ भन्नेमा पनि नीतिगत तहमै निर्णय गर्न परीक्षणले सहज हुने श्रेष्ठले विश्वास व्यक्त गरे।

मध्यपुर थिमि नगरपालिकामा मात्र कोरोनाको पहिलो र दोस्रो लहरमा ६ हजारभन्दा बढी संक्रमित भएको छ। दोस्रोमा १ हजार ७०० जनासम्म संक्रमित भइसकेका छन्। अहिले सक्रिय संक्रमितको संख्या ३०० भन्दा तल रहेको छ। संक्रमण दर ५० प्रतिशतसम्म पुगेको मध्यपुर थिमिमा अहिले घटेर ७ देखि १० प्रतिशतमा झरेको नगरप्रमुख श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.