|

काठमाडौं : विगतको वर्षमा जस्तै यस वर्ष पनि काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ। 

महानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। जसमा महानगरभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि परम्परागत बाजा सिकाउने गुरु, सामुदायिक गुम्बाको सञ्चालनमा संलग्न प्रमुख लामालाई सम्मान गर्ने कार्यलाई निरन्तर दिइने उल्लेख छ।

त्यसैगरी सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गर्दै आइरहेका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित संघसंस्थालाई आर्थिक सहयोग उपलब्ध गराइने भएको छ। हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारीघरको जीर्णोद्वार कार्य शुरु गरिनेछ। थापाथली पुलबाट शंखमुलसम्मको नदी किनारालाई हरियाली तथा खुला क्षेत्रका रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

भद्रकाली मन्दिर र महाँकाल मन्दिर परिसरको विकास, मर्मतसम्भार तथा जीर्णोद्वार कार्य यसै आर्थिक वर्षमा सुरु गर्ने, महानगरपालिकाले हालसम्म निर्माण, पुनर्निर्माण र जीर्णोद्वार गरेका मूर्त सम्पदाको अभिलेखीकरण र प्रकाशन गर्नेजस्ता कुरा पनि उल्लेख गरिएको छ।

ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाइने

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रका रूपमा विकास गरिने महानगरपालिकाले जनाएको छ। 

महानगरभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

पशुपतिनाथलगायत दर्शनार्थीको धेरै चाप हुने धार्मिकस्थलका सरोकारवालाको सहयोगमा दर्शनका लागि पंक्ति व्यवस्थापन प्रणाली व्यवस्था गरिनेछ। आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवर्द्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवर्द्धन र विस्तारमा जोड दिने नीति लिइनेछ। प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.