|

काठमाडौं : प्रधानमन्त्री एवम् कोभिड-१९ व्यवस्थापन निर्देशक समिति अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको बैठकले असार दोस्रो साताबाट जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ।

समितिका अनुसार स्मार्ट लकडाउनमा स्वास्थ्य सुरक्षा अपनाएर अहिलेको तुलनामा धेरै क्षेत्र खुल्नेछन्। सार्वजनिक सवारीसाधन सञ्चालनको हकमा जोर-बिजोर नभई नम्बर संख्याका आधारमा सञ्चालन गर्न दिइन्छ।

बन्देज लगाइएको क्षेत्रमा चरण १, २, ३ गर्दै क्रमशः खुल्नेछन्। समितिले तयार पारेको स्मार्ट लकडाउन मोडालिटीमा सबै पसल खुल्नेछ। तर, समय निर्धारण गरिने छ। जस्तो खाद्यान्नलाई बिहान ९ बजेसम्म, लत्ताकपडा, इलेक्ट्रिक पसल १० देखि १२ बजेसम्म र अन्य पसलकाे समय वर्गीकरण गरेर खोलिनेछ।

तर, सर्वसाधारणहरूलाई स्मार्ट लकडाउनबारे खासै जानकारी छैन। जिल्ला प्रमुखहरू समेत यसबारे अहिलेसम्म अनभिज्ञ छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले स्मार्ट लकडाउनबारे केही जानकारी नभएको बताए।

भने, ‘राज्यले अहिले निषेधाज्ञा नै जारी गरिरहेको छ, स्मार्ट लकडाउन गर्ने भन्नेचाहिँ सुनेको छु, तर यो भनेको के हो थाहा नै छैन।’ कुन-कुन क्षेत्रमा के-के खोल्न दिने विषयमा आगामी आइतबार तीन वटै जिल्ला प्रमुखहरू बैठक बसी निर्णय गर्ने उनले बताए।

‘यो-यो क्षेमा खोल्न दिने भनी केही निर्णय भएको छ,’ उनले भने, ‘काठमाडौं, ललितपुरका जिल्ला प्रमुखसँग आइतबार बैठक बस्दै छौँ, बैठकमा छलफल गरेर मात्र निर्णय हुन्छ।’

अझै कोरोना संक्रमण जोखिम कायम रहेको भन्दै समितिले निर्णय गरेको सबै क्षेत्रमा तत्काल खोल्न नसकिने उनको भनाइ छ। सरकारले दोस्रो लहरको कोरोना भाइरस  संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो। पटक-पटक गरी थपिएको जारी निषेधाज्ञा ७ गते सकिँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.