यस वर्षको भाषा परीक्षा पनि रोकियो

|

काठमाडौ : नेपाली श्रमिकको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरिया रोजगारी विगत १६ महिनादेखि रोकिएको छ। कोरिया सरकारले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेसँगै कोरिया जाने तयारीमा थिए भाषा पास गरेकाहरू   

कोरिया सरकारले आइसिसी (भिसा दिएको भनेर जनाउने प्रमाणपत्र) जारी गरेको ९० दिनभित्र कोरिया प्रवेश गरिसक्नुपर्ने प्रावधान छ। तर प्रावधानमा उल्लेख भएभन्दा बढी समय बितिसकेकाले अब कोरिया जान पाइने नपाइनेमा नेपाली युवामा अन्योल छाएको छ।

काभ्रेपलाञ्चोकका अनिष कार्कीले रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा र सीप परीक्षण उत्तीर्ण गरेको १६ महिना बित्यो। 'कोरिया जाने प्रक्रियामा हुँदाहुँदै लकडाउनका कारण २०७७ फागुनदेखि हामी स्थगित परेर अन्योलमा छौं। तर, हालसम्म कोरिया जान पाएका छैनाैं,' उनले भने। पहिलो चरणको लकडाउन सुरु हुनुभन्दा पहिले नै सीप परीक्षामा समेत उत्तीर्ण भएर कोरियन रोजगारदाताले बोलाइसकेका अनिष जस्ता धेरैको अहिले चिन्तित छन्। 

कोरोनाका कारण लामो समयदेखि कोरियाबाट रोजगार सम्झौता पत्र (लेबर कन्ट्र्याक्ट) आइसकेका तथा बिदामा फर्किएका (कमरेडहरू) कोरिया रोजगारीमा जान पाउने टुंगो लाग्न सकेको छैन।

भियतनाम, कम्बोडिया, थाइल्याण्डलगायत मुलुकबाट रोजगार अनुमति प्रणाली (इपिएस) को भाषा परीक्षा पास गरेकाहरूलाई कोरिया सरकारले लगिरहेको छ। तर यो पटक नेपालबाट समन्वय अभावमा आफूहरू जान नपाए उनीहरूको ‍गुनासो छ। कोरिया जान सबै प्रक्रिया पूरा गरेर बसेका युवा बताउँछन्।

कोरियाले अरु देशबाट कामदार लगिराखेको छ। तर नेपाल सरकारले कोरिया सरकारसँग समन्वय नगर्दा ८ हजार युवाको अवसर संकटमा परेको कार्कीको भनाइ छ। आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर कोरिया जाने वातावरण मिलाउनुपर्ने कार्कीको भनाइ छ।

इपिएस शाखा प्रमुख इन्द्र गौतम दक्षिण कोरियासँग नेपाली कामदार लैजाने विषयमा समन्वय भइरहेको बताउँछन्। छलफलबाट जतिसक्दो छिटो टुंग्याउने उनको भनाइ छ। कोरियाले नेपाललाई रेड जोनमा राखेको थियो।  महामारीको जोखिम झन् बढ्दै गइरहेकाले तत्काल यस विषयमा टुंगो लाग्न सकेको छैन।

बीचमा कोभिड संक्रमण केही कम भएको अवस्थामा ट्रायलका रुपमा नेपालबाट श्रमिक लैजाने कि भन्ने थियो। फेरि कोभिड महामारीले जटिल रुप लिन थालेपछि अहिले कोरियाले कुनै चासो नदेखाएको उनले बताए। २०१७, २०१८, २०१९ मा परीक्षा दिएका ८ हजार परीक्षार्थी कोरिया जाने प्रतीक्षामा छन्।

कोरियाले नेपाललाई मात्रै नभएर दक्षिण एसियाली मुलुकहरू नै कोभिडको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेको उनले जानकारी दिए। त्यसो हुँदा कोभिड महामारीको सामान्य अवस्था भए मात्रै नेपाली श्रमिकहरू लैजाने सम्भावना रहेको उनको भनाइ छ।

यस वर्ष पनि रोकियो भाषा परीक्षा

हरेक वर्ष इपिएस प्रणालीअन्तर्गत हुने भाषा परीक्षा यो वर्ष पनि नहुने भएको छ। कोभिडका कारण सन् २०२० को भाषा परीक्षा पनि हुन सकेको थिएन। सन् २०२१ मा हुने भनिएको भाषा परीक्षाको पनि अझै टुंगो लाग्न सकेको छैन।

‘अहिलेसम्म केही टुंगो लागेको छैन। परीक्षा हुन्छ अथवा हुँदैन भनेर किटान गर्न सक्ने अवस्था छैन। यो वर्षको अन्तिमसम्म हुन पनि सक्छ। तर सम्भावना कम देखिएको गौतमको भनाइ छ।  

इपिएस प्रणालीअन्तर्गत हरेक वर्ष हुँदै आएको भाषा परीक्षामा ८० हजारभन्दा बढी सामेल हुने गरेका थिए। सहभागीमध्ये ८ हजारभन्दा बढीले भाषा परीक्षा उत्तीर्ण गर्दै आएका थिए।

उत्तीर्णमध्ये ७ हजार बढीले कोरिया रोजगारीको अवसर पाउँदै आएका थिए। तर २०२० मा भाषा परीक्षा नै नहुँदा ७ हजार बढी युवाको अवसर गुमिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.