|

गोरखा : एमालेका सांसद धनञ्जय दवाडीले गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठनका लागि अप्राकृतिक र अराजक गठबन्धन गरिएको बताएका छन्। 

शुक्रबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मागेको विश्वासको मतसम्बन्धी छलफलमा सांसद दवाडीले सत्ता प्राप्तिका लागि यो गठबन्धन भएको आरोप लगाएका हुन्।

‘सत्तारुढ गठबन्धन अप्राकृतिक हो। माओवादी र कांग्रेसले एकअर्कालाई दस्तावेजका हिसाबले मित्रशक्ति मान्दैन। माओवादीले दस्तावेजका हिसाबले कांग्रेसलाई प्रमुख दुश्मन किटान गर्छ। तपाईंहरुले त्यसले कसरी स्वीकार गर्न सक्नुहुन्छ ? यो गठबन्धनमा संघीयतालाई खारेज गर्नुपर्छ भन्ने पनि छन्। अनि यो गठबन्धन अप्राकृतिक, अराजक, सत्ताका लागि मात्रै नभए केका लागि हुन्छ ?’, उनले प्रश्न गरे।

सांसदहरु भत्ता खानका लागि मात्रै नभई मुलुकको जटिल समस्या समाधानका लागि भएको उनको तर्क छ।

‘संसदमा हामी रहन्छौं, रहन्नौं, महत्वपूर्ण कुरा प्रणाली हो। संसद भत्ता खान, लोगोका लागि मात्र होइन, मुलुकको जटिल समस्या समाधानका लागि हो। अबको ५० वर्षपछि मूल्यांकन हुँदा साँच्चै लोकतन्त्रका लागि त्यतिबेलाको सरकार अपदस्त गरेको भन्ने पुष्टि होला ?’, उनले भने।

यस गठबन्धनको सरकार लामो समय  नटिक्ने उनको भनाइ छ।

‘सत्ताका लागि जे पनि ठीक भन्ने सन्देश बोक्नुभएको छ, यसले पद्धतिलाई वर्षौंसम्म प्रभाव पार्नेछ। आफ्ना निमित्त बनाउनुभएको गठबन्धनमा विचार, विधि, व्यवहारकै समस्याको जगमा बसेर उभिनुभएको सरकार धेरै लामो समय मैले कामना गरे पनि रहन सक्दैन’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.