|

सर्लाही : सर्लाहीको ईश्वरपुर-१२, लामिदमारमा ७ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लामिदमारका ३१ वर्षीय कीर्तिमान गोले रहेका प्रहरीले जनाएको छ। गोलेले मावली घरमा हजुरआमासँगै बस्ने ती नाबालिकालाई गएको वैशाख १० गते मिठोमिठो खानेकुरा दिन्छु भन्दै ललाइफकाई नजिकै आफन्तको खाली घरमा लगेर करणी गरेको पाइएको प्रहरीले जनाएको छ।

पीडित बालिकाका बुवाआमा ज्याला मजदुरीका लागि लालबन्दीमा बस्दै आएका छन्। बुवाआमा हिजो घर फर्किएपछि बालिकाले आफूमाथि गोलेले करणी गरेको बताएकी थिइन्।

त्यसपछि सो घटनाबारे पीडित परिवारले हिजै बेलुका इलाका प्रहरी कार्यालय केशरगञ्जमा जानकारी गराएका थिए। घटनाबारे जानकारी पाउनासाथ आज बिहान आरोपी कीर्तिमानलाई घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।

कीर्तिमानविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक ढुङ्गनाले पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको स्वास्थ्य परीक्षणका जिल्ला अस्पताल मलंगवातर्फ ल्याउन लामिदमार क्षेत्रमा अहिले कुनै सवारी संचालन नभएकाले बालिका र उनका अभिभावकलाई प्रहरीकै गाडीमा राखेर ल्याइएको जानकारी दिए।

लामिदमार, ईश्वरपुर नगरपालिकाको विकट चुरे क्षेत्रमा पर्ने गाउँ हो। पूर्वपश्चिम लोकमार्गबाट गाडीमा बाँके खोलाको बाटो हुँदै लामिदमारसम्म पुग्न दुइ घण्टा भन्दा बढी समय लाग्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.