|

दैलेख : हेर्दा भिरालो ठाउँ, ससाना टिन लगाएका माटो ढुंगाबाट बनेका घर, बस्तीको तलपट्टि सडकले खोतलेको ठाउँ। न आफ्नो नाममा जग्गा, न सुरक्षित बस्ने बस्ती। यो दृश्य दैलेखको नारायण नगरपालिका–१ र–६ मा पर्ने गणेश चौक नजिकै रहेको वादी बस्तीको हो। 

२० वर्षअघि देखि अव्यवस्थित तरिकाले यहाँ बस्दै आएका वादीलाई आफ्नो नाममा जग्गा बनाउने कुरा परको हो। उनीहरू हरेक बर्खामा निदाउन पाउँदैनन्।ज्याला मजदुरी गरी परिवारको गर्जो टार्दै आएका वादीलाई बर्खामा कसरी बाच्ने भन्ने चिन्ताले पिरोल्ने गर्दछ।

२०६२ साल साउन २९ गते लगातारको बर्सातसँगै आएको पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाले ज्यान गुमाएको घटना सम्झँदै बस्तीकी मैनकला वादी भन्छिन्, 'बर्खा लाग्ने बित्तिकै पुराना दिनले पोल्छ। जाऊँ भने जाने ठाउँ छैन, यही बसौँ बर्सातसँगै पहिरो आएर कुन बेला घर बगाउँछ भन्ने डरले रातभर निदाउन पाउँदैनौँ। 

५२ घरधुरी रहेको वादी बस्तीमा अहिले ३ सय ५० जनाको हाराहारीमा बसोबास गर्दै आएका छन्। दैलेख सदरमुकाममा आउने मालवाहक गाडीहरूमा सामान झार्ने, ज्याला मजदुरी गर्दै जीवन गुजार्ने वादीलाई बर्खाका रातहरुमा आन्नद निदाउन मन छ। ठूला घरमा होइन बर्खाको समयमा हामीलाई सुरक्षित ठाउँमा आनन्दले निदाउन मन छ। बस्तीका जयलाल वादीले भने।

पहिले पनि एक पटक बर्सातसँगै आएको पहिरोमा परी यहाँका केही मानिसले ज्यान गुमाइसकेका छन्। बर्खामा कुन बेला पहिरो आएर बस्ती बगाउँछ भन्ने चिन्ताले रातभर जागाराम बस्नुपर्ने बाध्यता भएको जयलाले दुखेसो पोखे।

जोखिममा रहेकालाई सारियो

मनसुन सुरु भएको पहिलो सातामा वादी बस्तीका तीन घर पहिरोको जोखिममा रहेको भन्दै त्यहाँ बस्दै आएका मानिसलाई अन्यत्र सारिएको छ। कुनै मानवीय क्षति नहोस् भन्दै त्यहाँ बसोबास गर्नेलाई अन्यत्र सारिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए।

उनले भने, बर्सातको समयमा हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै दैलेख प्रहरीले नागरिकलाई सचेत गराउने विभिन्न कार्य गर्दै आएको छ। दैवीप्रकोप भएको ठाउँमा प्रहरी टोलीले उद्धार कार्यका लागि विभिन्न टोलीलाई तयारी अवस्थामा राखिएको र सोहीअनुसार काम हुँदै आएको श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.