|
फाइल फोटो

कञ्चनपुर : कोरोना संक्रमणको दोस्रो लहरको दर घटिरहेको भए पनि अझै पूर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन्। तर कोरोना त्रासदीका बीच जीविका चलाउन मजदुरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ।

सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआए पनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ। 

‘डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदुरी गर्न जादैछु,’ कञ्चनपुरको पूर्वी गौरीफन्टाबाट भारतको मुम्बै जान हिँडेका दिपेन्द्र खड्काले भने, ‘यहाँ बसेर कोरोनाबाट त बाँच्यौ तर भोकले मर्ने स्थिति बनेपछि मुग्लान जानुको विकल्प रहेन।’

कोरोना कहरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीय स्तरमा रोजगारीका कुनै सम्भावना नहुनु दुखःद कुरो भएको बताए। ‘कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जिविका चलाउने मन थियो,’ उनले भने, ‘पारिवारिक अवस्था कम्जोर त्यो सम्भव भएन।’

गत चैत महिनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीडभाड रहे पनि अहिले कोरोना कम हुँदा कामका लागि भारतको विभिन्न शहर जाने क्रम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य नै दशकौंदेखि भारत नै हो।

डोकेबजारस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक खड्कजंग शाहीले गत जेठ महिनामा मात्रै गौरीफन्टा नाकाबाट १२ हजार ७०० भन्दा बढी नेपाली भारत रोजगारीका लागि गएको जानकारी दिए। ‘भारतबाट स्वदेश फर्किनेहरुलाई गन्तव्यमा पु¥याउन नाकामै बसको व्यवस्था गरिएको छ,’ उनले भने, ‘बसहरु गन्तव्यमा यात्रु पुर्‍याएर फर्किंदा त्यसैमा भारत जाने आउँछन।’

उनले गौरीफन्टा नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत, कालीकोट, प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जान आइरहेको बताए।  प्रहरी नायव निरीक्षक शाहीका अनुसार गत जेठमा यहाँको नाकाबाट २४ हजार नेपाली स्वदेश फर्किएका थिए। 

‘अहिले त महिला, बालबालिका गरी सिङ्गो परिवारसहित भारत गइरहेका छन्,’ उनले भने, ‘यो नाकाबाट दिल्ली, मुम्बै, पुना, गुजरात लगायतका शहरमा बढी जाँदा रहेछन्।’

त्यसैगरी शुक्रबार श्रीमानसहित कामका लागि भारतको पञ्जाब जान लागेकी डडेल्धुराकी धनादेवी जोशीले आफूहरु लामो समयदेखि भारतमा रोजगारीमा रहेर परिवारको जीविका चलाउँदै आएको बताइन्। ‘यहाँ त कोरोनाको बेलामा कामसमेत पाउँने स्थिति छैन,’ उनले भनिन्, ‘कोरोनाको समयमै रोगले भन्दा भोकले मर्ने चिन्ताले परिवारसहित भारत जादैछौं।’

केही दिनयता भारतले पनि नेपाली नागरिकलाई भारत जान सहज गरेका कारण नेपालीहरु दैनिक रुपमा भारत जाने क्रम बढ्दै गएको हो। शुक्रबारको तथ्यांक हेर्दा गौरीफन्टा नाकाबाट ७०० जनाभन्दा र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भारत जाने क्रम यहाँका नाकाबाट बढेको बताए। ‘कोरोना कहर कम हुँदै जाँदा आउनेहरु घटेका छन्,’ थापाले भने, ‘नाका खुलिनसकेकाले भारतीयलाई भने यहाँ आउन दिइएको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.