|

काठमाडौं : आइतबार बिहान ११ः३० बजे वैदेशिक रोजगार कार्यालय ताहाचल पुग्दा दोलखाका  २८ वर्षीय प्रवीण पुरी हातमा कागज  बोकेर लाइन बसिरहेका देखिए। पुरी कतारका लागि पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन आएका लाइनमा थिए। तर ३ घण्टा बितिसक्दा पनि उनको पालो भने आएको थिएन।  

उनीजस्तै कार्यालयमा काम लिएर आउनेहरूलाई टोकन नम्बर दिइएको छ। तर, नम्बरअनुसार पालो भने नपाइएको पुरीले गुनासो गरे। भन्छन्, 'सरकारले रोजगारी त दिन सकेन, यत्तिको व्यवस्थान त गरिदिएहुन्थ्यो नि।’

लाइनमा बसेकाहरूले न त भौतिक दूरी कायम गरेका थिए, न त मास्क नै लगाएका थिए। वैदेशिक रोजगार कार्यालयले सेवालाई व्यवस्थित बनाउन सुरक्षाकर्मी खटाएको भनेको थियो। तर थाहाखबरकर्मी त्यहाँ पुग्दा सुरक्षाकर्मी कतै देखिएनन्।   

कार्यालयले गत वैशाख २१ देखि भौतिक रूपमा हुने सम्पूर्ण सेवा स्थगित गरेको थियो। कार्यालयले यसबीच बायोमेट्रिक गरिसकेका हकमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति दिँदै आएको थियो।

हाल भौतिक सेवा दिन थालेको कार्यालयले सुरक्षा मापदण्ड नअपनाउँदा सेवाग्राहीलाई संक्रमणको जोखिममा परेको पुरीले गुनासो गरे। ‘यसरी खचाखच भएर बस्दा संक्रमण हुन सक्छ भन्ने त उहाँहरूलाई पनि थाहा होला नि हैन?' उनले हामीतिरै प्रश्न तेर्स्याए।  

नेपालगञ्जका ३१ वर्षीय ईश्वरीप्रसाद बस्याल पनि कतारका लागि पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन त्यही लाइनमा थिए। लामो समयदेखि लाइन बसेका बस्याल  वैशाख पहिलो साता नेपाल आएका थिए।

देशमै केही गर्ने सोचले नेपाल फर्केको बताउने उनी देशको अवस्थाले केही गर्ने आँट नै नआएको बताउँछन्। 

'नेपाल बसेर हातमुख जोड्नै मुस्किल पर्ने अवस्था आयो,' उनले सुनाए, ‘अब नेपाल बसेर केही गर्न सक्ने अवस्था छैन, भोकले मर्नुभन्दा रोग लागेर मरिन्छ भने मरियोस्।’ सोही पालो कुरिरहेका धादिङका रमेश तामाङले नेपालमा रोजगारीको कुनै अवसर नपाएपछि फेरि विदेश फर्कनुपर्ने अवस्था आएको सुनाए। 

द्रुत सेवा दिएको कार्यालयको दाबी 

सेवालाई छिटो,छरिता र प्रभावकारी बनाउन अनलाइनबाट सेवा दिइएको कार्यालयका सूचना अधिकारी राजेश उप्रेती बताउँछन्। 'हामीले बढीमा ५० जनासम्म आउनुहोला भन्ने अनुमान गरेर त्यसैअनुसार तयारी गरेका थियौं,’ उनले भने, ’पहिलो दिन नै सेवाग्राहीको चाप धेरै भयो। अब यसलाई सहजीकरण कसरी गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं।’

कार्यालयमा उपस्थित भएका सेवाग्राहीलाई सबैलाई सकेसम्म एकै दिनमा सेवा प्रवाह गर्न प्रयास गर्ने उनले बताए। भने, ’यस्तो दुःख गरेर आउनुभएको छ। सकेसम्म हामी सबैलाई सेवा दिन्छौं।’  

भौतिक उपस्थित हुनेहरूका लागि लाइनको ब्यवस्थापन गरिएको सुचना अधिकारी उप्रेती गर्छन्। उनका अनुसार निषेधाज्ञा अवधिमा अनलाइनबाट मात्रै १ हजार ३ सय २२ जनाले सेवा लिए। ७ सय ९८ जनाले भौतिक उपस्थितिमा सेवा लिएका उनले जानकारी दिए। कार्यालयले हाल भौतिक उपस्थितिमा सातामा दुई दिन (आइतबार र बुधबार) सेवा दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.