कालोपत्रे भत्काएर अलपत्र पारिदिएपछि आवातजावतमा सास्ती

|

धनगढी : धनगढीमा स्थानीयले हिलाम्य सडकमा धान रोपेका छन्। धनगढी उपमहानगरपालिका-५ हसनपुर–शिवनगर सडक हिलाम्य भएपछि स्थानीयले त्यसैमाथि धान रोपेका हुन्। धान रोप्दै उनीहरुले सडक कालोपत्रेको समेत माग गरेका छन्। 

हिलाम्य सडकमा हसनपुरका बासिन्दाले ठेकेदारको लापरवाहीले कालोपत्रेमा ढिलाइ गरेको भन्दै सडकमा धान रोपेको बताएका छन्। स्थानीय अनिल भण्डारीले तीन वर्षअघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारिदिएपछि हिलाम्मे हुँदा आवातजावतमा सास्ती भएको बताए।

उपमहानगरपालिकाले समेत उक्त सडक कालोपत्रे गर्न चासो नदिएका कारण निर्माणका लागि दबाब दिन रोपाइँ गरिएको उनले बताए। ‘तीन वर्षअघि सडक कालोपत्रे हुँदा कुनै खालको समस्या थिएन। तर पुनः कालोपत्रे गर्ने भन्दै सडक भत्काइयो,’ भण्डारीले भने, ‘वर्षातका बेला आवतजावत गर्न सकिने अवस्था नै छैन। मानिसको मृत्यु हुँदा शव बोक्न सक्ने अवस्था छैन।’

उपमहानगरपालिकाले आफूहरुको माग सुनवाइ नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएपछि वडा कार्यालयले सोमबारदेखि निर्माण व्यवसायीलाई काम गर्न लगाउने सहमति गरेको छ। आइतबार दिउँसो धनगढी उपमहानगरपालिका पुगेका उनीहरुले स्थानीय जनप्रतिनिधिविरुद्ध नाराबाजी गरेका थिए।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ७३ लाख २६ हजार रुपैयाँमा झण्डै तीन सय मिटर सडक कालोपत्रेका लागि न्यू साहारा कन्सट्रक्सनसँग सम्झौता गरेको थियो।

तर कोरोना महामारीको कारण देखाउँदै निर्माण व्यवसायीले काम नगरेपछि एक वर्ष म्याद थपिएको थियो। थपिएको समयभित्र पनि काम नगरेपछि पुनः कोरोना महामारीको कारण देखाउँदै निर्माण अघि बढाएको छैन।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर प्रदीप शर्माले कोरोनाकै कारण काममा ढिलासुस्ती गरिएपछि तीन वर्षसम्म सडक कालोपत्रे हुन नसकेको बताए। उनले स्थानीय र वडा कार्यालयबीच भएको सहमतिअनुसार निर्माण व्यवसायीलाई सडकको निर्माण गर्न पुनः ताकेता गरिने बताए।

३ सय मिटर सडक कालोपत्रे गर्न ३ वर्ष लगाउँदा पनि भएन पूरा 

धनगढी उपमहानगरपालिकाले पुरानो हसनपुरको ३ सय मिटर सडक ३ वर्ष लगाएर समेत कालोपत्रे गर्न नसकेको भन्दै आक्रोशित स्थानीयले सडकमा धान रोपेका हुन्। उपमहानगरको बजेटमा निर्माण हुन लागेको सडकको लम्बाइ ३ सय मिटर मात्रै भए पनि तीन वर्ष हुनै लाग्दा पनि अधुरो छ।

उपमहानगरपालिका वडा नम्बर–५ हसनपुर बसोबासका लागि आकर्षक ठाउँ भए पनि नगरपालिकाका कारण ठाउँकै बदनाम भएको स्थाानीयको गुनासो छ।

तीन जना निर्माण व्यवसायी आएर पनि तीन वर्षदेखि हसनपुर–शिवनगर सडक अलपत्र छोडेको भन्दै हिलाम्मे सडकमा धान रोपाइँ गर्नुपरेको स्थानीय अनिल भण्डारी बताए।

आर्थिक वर्ष २०७४/७५ मा धनगढी उपमहानगरपालिकाले ठेक्कामा लगाएको त्यो सडकमा अहिलेसम्म तीन जना निर्माण व्यवसायी काम गर्न आएको भए पनि तीनैले तोकिएको समयमा काम पुरा नगर्दा राम्रै सडक हिलाम्मे बनेको छ।

धान रोपेर विरोध जनाएकी अर्की स्थानीय कृष्णादेवी मिश्रले सडक बनाउने भनेर कालोपत्रे गरिएको सडक भत्काउने काम भएको गुनासो गरिन्। मिश्रले ओहोरदोहर गर्दा आफू दिनहुँ लड्ने गरेको बताइन्। राम्रो सडक खनेर हिड्न नसकिने बनाएको उनको  आरोप छ।

सडक नबन्दा त्यो सडक प्रयोग गर्ने शिवनगर र हसनपुरबासीले कठिनाइ भोग्नु परेको छ। त्यो सडकमा नाली समेत पुरै नबन्दा सडकको पानी आँगनमा आउने गरेको स्थानीयको गुनासो छ। 

उनीहरुले हसनपुर–शिवनगर सडक अविलम्ब निर्माण गर्न धनगढी उपमहानगरपालिकालाई चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.