काठमाडौं : नेपाली कांग्रेससहितका विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ।
आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा नेताहरुले गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्दै जाने निष्कर्षमा पुगेका हुन्।
देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेतृ दुर्गा पौडेल सहभागी बैठकमा विपक्षी गठबन्धनलाई थप मजबुद गराउँदै लैजाने विषयमा छलफल भएको थियो।
तत्काल प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्न सक्ने निष्कर्ष नेताहरुले निकालेका छन्। बैठकमा देउवा र दाहालले गठबन्धन नछाड्न एमाले नेता नेपाललाई आग्रह गरेको एक नेताले बताए।
नेता नेपालले आफूले गठबन्धन नछाड्ने बताएको ति नेताले सुनाए। संघमा संसद पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले केही समय पर्खिने र फैसला आफूहरुको पक्षमा नआए आवश्यकताअनुसार अघि बढ्ने निष्कर्ष निकालिएको ति नेताले बताए।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्दै प्राकृतिक विपत्तिमा जनतालाई राहत दिन सरकार असफल भएको निष्कर्षसमेत निकालेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।