|

पर्सा : पर्सामा रहेको नेपाली सेनाको चण्डी प्रसाद गणका एक सैनिक जवान गोली लागेर घाइते भएका छन्। उनको वीरगन्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पर्साको वीरगन्ज–८ मा रहेको चण्डी प्रसाद गणका घाइते सिपाही पर्साकै पोखरिया नगरपालिका वडा नं.–५ सतबरिया २२ वर्षीय श्यामबाबु प्रसाद चौहान रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। उनी आइतबार साँझ गणको कार्यालय भवन पछाडी तर्फको पोष्टमा ड्युटी खटिरहेका थिए।

साँझ करिब ८ बजेर ३५ मिनेटमा एक्कासी गोली पड्किएको आवाज त्यतैबाट आएपछि अरु सैनिक जवान गोली पड्किएको ठाउँ तर्फ हेर्दै जाँदा पोष्टमा खटिएका सैनिक चौहानलाई घाइते अवस्था फेला पारेको नेपाली सेनाको चण्डी प्रसाद गणले जनाएको छ।

आफूलाई पनि त्यहि सूचना आएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए। घाइते जवानलाई तत्काल अस्पतालमा लगी उपचार सुरु गरिएको छ। अहिले घाइते सैनिक जवानको वीरगन्जकै नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। आफै गोली हानेर एक सैनिक जवान घाइते भएको गणपतिले मलाइ पनि घटनाबारे बताएको प्रमुख जिल्ला अघिकारी घिमिरेले जनाए। 

घाइते सैनिक जवान चौहानले ड्यूटीमा खट्दा उनैले बुझेर लगेको एन–१६ राइफलको गोली लागेको खुलेको छ । उनको घाउ हेर्दा गोली घाँटीको छेउबाट लागी दाहिने आँखाको तलबाट छेडेर बाहिर निस्किएको जस्तो देखिएको गण स्रोतले जनाएको छ। आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको पनि सैनिक स्रोतको दाबी छ।  

गणको पछाडी तर्फको पोष्टमा सिपाही नरेश गुरुङ र चौहान आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्म ड्युटीमा खटेको समयमा गुरुङ ट्वाइलेट गएको समयमा १ राउण्ड फायर खुलेको सूचना छ। यो घटनाको थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.