बढ्दो सहरीकरण प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझो हुन थाले

|

जनकपुरधाम : तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मडुवा) खेती लोप हुने अवस्थामा पुगेको छ। कोदो बालीलाई माडेर झार्ने भएकोले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ।

व्यावसायिक रूपमा खेती गर्ने किसानको संख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो।

तीन दशकअघि धनुषाको प्रायजसो सबै ग्रामिण भेगका तत्कालीन ढल्केबर, वटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुर लगायतका गाविसका सिंचाइ सुविधा नभएका स्थानका अधिकांश किसानले कोदो खेती गर्दथे। तर अहिले कोदो खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसानहरू बताउँछन्।

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली अहिले धनुषाको सीमित गाउँमा मात्र खेती गरिन्छ। रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन्। तर कोदो खेती गर्ने किसानको संख्या दिनहुँ घट्दै गएको किसानहरूको भनाइ छ।

‘पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भात भएकाले कोदो खेती विस्थापित भएको छ,’ तत्कालीन ढल्केबर गाविस हाल मिथिला नगरपालिका–६, का दानबहादुर खड्काले भने, ‘अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन नै भयो।’ उनले अहिले घरका लागि आवश्यक पर्ने मात्र आफूले बारीमा कोदो खेती गरेको भन्दै कोदो रोप्ने प्रचलन हटेको बताए।

अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको बटेश्वर गाउँपालिका किसान रामप्रसाद भण्डारीले बताए।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र प्रसाद सिन्हाका अनुसार विस्थापित भएको बालीलाई दुई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखिएको भए पनि सफल हुन सकेको छैन। कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि माग अनुसार जिल्लामै आपूर्ति गर्न नसकेको उनले बताए।

कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेतीप्रति आकर्षण घट्दै गएको हो। कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोसिलो तत्वका रुपमा समेत लिइन्छ। पहिला वर्षे खेतीको रुपमा लगाइने कोदो अहिले देख्नै मुस्किल भएको मिथिला नगरपालिका पुष्पवलपुरका किसान गंगा महतोले बताए।

कोदो अन्य बालीभन्दा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ। सहरीकरणसँगै मान्छेमा अल्छीपन बढ्दै गएको छ। क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका किसान राजेश महतो गाउँघरमा हेपिएको खाद्यान्न अहिले सहरबजारतिर खोजी खोजी खान थालिएको बताउँछन्। ‘पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ’, उनले भने।

धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण लोप हुँदै गएको जेटिए ममता बलम्पाकीको कथन छ।

बलम्पाकीले उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने बताइन्। मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ।

कृषकको आकर्षण घट्दै जाँदा जिल्लामै कोदो खेती लोप हुँदै गएको हो। धनुषाका अधिकांश क्षेत्रमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको हो।

कृषकले खेती गर्न छाडेपछि अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको कृषकहरू बताउँछन्। केहीले फाट्टफुट्ट कोदो खेती गरे पनि घरायसी प्रयोजनका लागि मात्र गरेको पाइन्छ। पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न कृषकले छाड्दै गएका हुन्।

२० वर्ष अघिसम्म पुष्पवलपुरका कृषक श्याम गोलेले आफ्ना गाउँका सबै खेतबारीमा कोदो लगाउने गर्थे। कोदोको उत्पादन पनि राम्रै हुन्थ्यो।

तर पछिल्ला समयमा उनले कोदोको व्यावसायिक खेती विस्तारै छाड्दै गएका छन्। ‘कोदो खेतीमै निर्भर भएर खेती गर्न कृषकले छाडिसकेका छन्, हिजोआज बरु बाख्रापालन, तरकारीलगायत नगदेबाली, फलफूल खेतीतर्फ कृषक आकर्षित हुन थालेका छन्’, उनले भने।

पुष्पवलपुर, भरतपुर, दिगम्बरपुरलगायत गाउँका धेरै कृषकले खेतमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर, अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन्। परम्परागतरूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक २० बढी गाउँका कृषकको मुख्य खाद्यान्न बाली थियो।

औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोसिलो अन्न मानिन्छ। पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ। कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको हो।

कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि आकर्षण भने घट्दै गएको छ। बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमीनहरू बाँझो हुन थालेका छन्। ग्रामीण भेगका मानिसहरू शहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिनमा कोदो फलाउन छाडिएको छ।

कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोसिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको वटेश्वर गाउँपालिका ५ शान्तिपुरका किसान अमर बहादुर थिङ्ग बताउछन्।

उनले पहिलेपहिले ५ मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताउछन्। ‘धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरीद गर्न व्यापारी आउँथे, २ चार पैसा पनि हुन्थ्यो अहिले त कोदो लगाउने जमीन वनमाराले भरिन थालेको छ’, उनले भने।

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा 'घुसुवा' बालीका रूपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर, आजभोलि सबै हराए। खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको कृषकहरू बताउँछन्।

पहिले पहिले गाउँमा पनि फागुनमा धान खेतमा जोतखन गरेर छरुवा कोदो लगाएर असारमा काटेर धान रोप्ने चलन थियो।

क्षीरेश्वरनाथ नगपालिका-३ पकडियाका किसान रामनारायण सिंहले कोदोको मूल्य अति न्यून हुने र यो अन्नलाई पहिलेदेखि गरिबी खानाको रुपमा लिइने हुँदा यसलाई कुअन्न भन्ने चलन रहेको बताउँदै उनले भने, ‘बजारमा पनि यसको मूल्य अन्य अनाजको तुलनामा न्यून छ। त्यसैले आजकाल मानिसको यो बाली लगाउने संख्या न्यून हुँदै गएको हो।’

कोदोमा अन्य धेरै विषेशता होलान् तर मानिसहरू यो खाना दुःखी र गरिबले खाने भन्ने भनाइ छ। त्यसैले यसलाई उपभोग गर्नेलाई अपमानित गरिन्छ। उच्च खानदानीमा पाहुनालाई कोदोको परिकार दिइँदैन्थ्यो र अझै पनि दिइँदैन।

स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको संक्रमण बढ्न थालेको छ।

परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ। सहर बजारमा कोदोको सुप बनाएर खाने गरिन्छ। कोदोबाट बिस्कुट, पाउरोटीजस्ता बेकरी बनाइन्छ। जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ। कोदो बालबालिकाको लागि सबैभन्दा उत्तम मानिन्छ।

प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका सिनियर अहेव अशोक साहले कोदो पौष्टिक आहारको रुपमा सबैभन्दा राम्रो बाली भएको बताउँछन्। उनले भने, ‘कोदोको महत्वबारे थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको हो। उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ।’

कोदोमा ट्रिस्टोफेन नामक एमिनो एसिडले गर्दा यसको पाचनप्रणाली ढिलो हुने हुँदा लामो समय नखाँदा पनि हुन्छ। यसबाट हाम्रो शरीरको तौल यथावत् राख्न मद्दत गर्छ।

कोदो खानाले यसमा भएको क्याल्सियमले गर्दा वृद्ध र बालकलाई चाहिने प्रकृतिक क्याल्सियमले गर्दा हाड मजबुत बन्न मद्दत पुग्छ। कोदो पाइने क्याल्सियम,फलाम, प्रोटिन रेसाको धनीको रुपमा लिइन्छ।

यसले बोसोको मात्रा कम गराउँछ। मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसको लागि यो राम्रो खानाको रुपमा लिइन्छ।

कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्ने तर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ।

कोदो खेती र यसका फाइदा

कोदो नेपालमा अन्नबालीमा धान, गहुँ,मकै पछिको चौथो स्थानमा पर्छ। यो बाली प्राचीन समयबाट खाद्यान्नको रुपमा देखिँदै आएको छ।

कोदो खेती घट्दै गए पनि यसमा पाइने क्यालसियमलगायत हाम्रो शरीरलाई चाहिने महत्वपूर्ण तत्वहरू पाइने हुनाले यसको माग सहरमा बढ्दो छ। यसको गुणको आधारमा उपयोग गरिँदा अत्यन्त राम्रो छ।

मध्यपहाडी भूभागका भिराला जमिनमा मकैपछि वा मकै भित्र घुसुवा बालीको रुपमा दुवै तरिकाले लगाइन्छ। अझ भिराला पहाडी जंगललाई फडानी गरी खोरिया तयार गरेर छरुवा कोदो बाली लगाइन्थो।

समय क्रममा आजकल जंगल फँडानीमा सरकार कडा बन्ने र मानिसहरू पनि ग्रामीण क्षेत्रमा जीवन निर्वाह कठिन बन्दै गएकाले अधिकांश युवा शक्ति कामको खोजीमा सहर र मुग्लान जाने प्रचलनले गर्दा खोरिया खेतीबाट टाढिने अवस्था छ।

खोरिया खेती घटने भए पनि परम्परागत कोदो खेती पनि क्रमश ह्रासोन्मुख हुँदै छ। अहिले सबै स्थानमा चामलको माग बढ्दो छ। हामीकहाँ रक्सी बनाउने कच्चा पदार्थको रुपमा कोदो प्रयोगमा बढी देखिन थालेको छ।

क्षीरेश्वरनाथ नगरपालिकाका कृषि शाखा अधिकृत गंगा यादवको अनुसार कोदोको किसिमहरूमा पाँउदुरे उर्छो, उर्छो (डल्ले), झ्यापे, कालोघुडे पर्छन्। तर, यसको उत्पादन समयका आधारमा उत्पादनको नामबाट भन्दा असारे, भदौरे (भाद्रमा पाक्ने), उर्छाे असोजमा पाक्ने, कार्तिकमा कालो घुडे, मंसिरे उर्छो कोदो आदि पाक्ने तलिकाको आधारमा नामकरण गरिन्थ्यो।

कोदो लामो समयसम्म भण्डारण गर्न सकिने अनाज हो। १२/१५ वर्षसम्म भकारी वा अन्य भाडामा राख्दा पनि सड्ने–गल्ने केही हुँदैन। तराईको तुलनामा पहाडमा कोदो बढी फल्छ।

पहाडमा ७९ प्रतिशत कोदो र भटमास ८२ प्रतिशत उत्पादन हुने हुँदा कोदो दोस्रो खाद्यान्न रुपमा लिइन्छ। उच्च पहाडी भागमा कोदो १४ प्रतिशत र जौ ३० प्रतिशत उत्पादन हुने हुँदा कोदो दोस्रो स्थानमा पर्छ।

कोदो उत्पादनमा नेपाल विश्वको १५ औं स्थानमा पर्छ। कोदो उत्पादन गर्ने देशमा भारत, चीन, युगान्डा, नेपाललगायत पर्छन्। विश्वको कुल उत्पादकको एक प्रतिशतमात्र नेपालले उत्पादन गर्छ। कोदो मध्य पहाडका तल्ला भाग, भित्री मधेस र तराईका खुला स्थानमा लगाइन्छ। उच्च पहाडी भाग र मध्य पहाडीको उच्चतर्फ मकै भित्र लगाउने हुँदा घुसाउने भनिन्छ।

कोदोका जात, गुण र पाक्ने समय

डल्ले

विरुवाको उचाई १ सय सेमि। गाँजहाल्ने क्षमता कम। बिउ रातो–खैरो। सजिलोसित १ सय २५ दिनदेखि १ सय ५४ दिनमा पाक्ने। तराई तथा भित्री मधेस तथा यो कोदो उच्च पहाडी र मध्य पहाडी भागमा १ सय ५१ दिनमा पाक्ने बिउ हो। यो कोदोको उत्पादन क्षमता ३ देखि ३.५ मेट्रिक प्रतिहेक्टर छ।

ओख्ले

विरुवाको उचाई ८९ सेमि। गाँज हाल्ने क्षमता बढी। बिउ साझा खैरो। सजिलै पाइने। १ सय ५४ दिनसम्म पाक्ने। मध्य पहाडमा, भित्री मधेस तथा उच्च पहाडी भागमा १ सय ९४ पाक्ने। उत्पादन क्षमता ३ देखि ३.५ मेट्रिक प्रतिहेक्टर।

काभ्रे

विरुवाको उचाई ८५ सेमि। गाँज हाल्ने क्षमता मध्यम। सबै समयमा गाँज हाल्ने। बिउ गाडा खैरो। बिउ सजिलै पाइने। मध्य पहाडी भागमा १ सय ७६ दिनमा पाक्ने। क्षमता २.३७ मेट्रिक प्रतिहेक्टर।

सैलुङ

बिरुवाको पाक्ने दिन १ सय ५५। क्षमता २.४ मेट्रिक प्रटिहेक्टर। मध्यमाञ्चलदेखि पश्चिमाञ्चलको १३ सयदेखि २२ सय मिटरसम्मको उचाइमा लगाइन्छ।

काभ्रे कोदो २०१५

सिफारिस पाक्ने समय १ सय ५३ दिन। प्रतिहेक्टर क्षमता २.४ मेट्रिक। मध्यमाञ्चलदेखि सुदूरपश्चिमाञ्चल सम्मका ७ सयदेखि १८ सय मिटर सम्मका पहाडी भिराला भागमा उत्पादन गरिन्छ।

कोदो र अन्य खाद्यान्न बालीसँग पाइने तत्वहरूमा के–कस्तो अवस्था छ। त्यसबारेमा तलको तालिकाबाट प्रस्ट हुन्छ

कोदो लगाउने समय जेठको तेस्रो हप्ताबाट भदौको दोस्रो हप्तासम्म उपयुक्त मानिन्छ। उच्च पहाडी भागमा जेठको तेस्रो हप्ताबाट असारको दोस्रो हप्तासम्म कोदो लगाउने उपयुक्त समय मानिन्छ।

मध्य पहाडी भेगमा साउनको दोस्रो र तेस्रो हप्तासम्म र तराईमा भदौको दोस्रो हप्ता भित्र लगाए पनि राम्रो हुन्छ। कोदोको बाली लगाउन भिरालो पानी नजम्ने हल्का दोमट, पाँगो माटो आवश्यक हुन्छ।

माटो ५ देखि ८.२ भएको स्थानमा बढी राम्रो भएको देखिन्छ। कोदोलाई माटो क्षयीकरणले त्यति असर नपर्ने वा क्षयीकरण सहन सक्ने क्षमता अरु बलीभन्दा बढी हुन्छ।

यो खेतीको लागि ३० देखि ३५ सेमिको बिरुवा लगाउँदा राम्रो हुन्छ। बिउको छनोटमा पुष्ट दाना, रंग परिर्वतन नभएको दाना बनाएर, झारपात नमिसिएको र ८५ देखि ९० प्रतिशत उम्रन सक्ने क्षमता भएको राम्रो हुन्छ।

प्रतिहेक्टर ५ देखि १० किलोग्रामसम्म लाग्छ। खुला जमीनमा बिउको मात्रा ५ केजीप्रतिहेक्टर र घुसाउनेमा १० किलो प्रतिहेक्टर लाग्छ। सिँचाइ वर्षयाममा बाली लगाउने हुँदा सिँचाइको त्यति जरुरत नपर्ने मानिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.