भीम आचार्य भन्छन् : विपक्षीसँगको वार्ता एकताविपरीत होइन

|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गरिरहेका नेता माधवकुमार नेपाल समूह दोहोरो भूमिकामा देखिएको छ।

पार्टी एकताको पक्ष रहेको बताउदै आइरहेको बेलामा नेता नेपाल समूहका नेताहरूले दोहोरो भूमिका देखाएका हुन्।

पार्टी एकताको लागि दोस्रो तहका नेताहरू निरन्तर अध्यक्ष ओलीसहित अन्य नेताहरूसँगको छलफल छन्। तर, नेता नेपाल भने ओलीविरुद्धको विपक्षी मोर्चाको बैठकमा सरिक भइरहेका छन्। 

नेता नेपाल समूहका नेताहरू योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल र भीम आचार्यलगायत नेता निरन्तर एकता जोगाउन भन्दै छलफलमा व्यस्त छन्। 

तर, नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाको अध्यक्ष उपेन्द्र यादव सम्मिलित बैठकमा सहभागी भइरहेका छन्। 

एमाले एकताको पहल भइरहेको बेलामा विपक्षी गठबन्धनमा सामेल भएका नेता नेपालले गठबन्धनबाट पछि नहट्ने आश्वासन दिएका छन्। त्यसो त आफ्नो अडानबाट हत्तपत्त पछि नहट्ने नेता नेपालको अडानको कारणले पार्टी एकतामा संकट पारेको संस्थापन पक्षको निष्कर्ष छ। 

नेता नेपाल समूहका नेतासँग संस्थापन पक्षबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङलगाय नेताहरू निरन्तर छलफल छन्। तर, नेता नेपाल धेरै परसम्म पुगिसकेकाले नेता नेपाल, भीम रावललगायत नेताबिनाको एमाले एकताको पहल भइरहेको बुझाइ छ। 

ओली नेता नेपाल समूहको बटमलाईन अनुसार पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउन तयार हुँदासमेत एकताका पक्षमा यसमा जोड गर्नुको अर्थ नभएको नेता गोकुल बाँस्कोटा बताउँछन्। 

अदालतको निर्णय फिर्ता लिने र जेठ ३ अघिको बैठक बस्ने सहमति नभए एकताको पहल छाड्नुपर्ने उनको भनाइ छ। 

‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरू थाके कि के हो? खिचडी पाक्ने त हो होइन? चुल्हो धुवाएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन’ उनले फेसबुकमा लेखेका छन्, ‘अदालतको निर्णय फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने। त्यो नभएर भो छोडदिम्, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्गो फुक्ने काम।’

विपक्षीसँगको बाचा

ओली बहिर्गमनको मोर्चामा लागेका नेता नेपाल समूह विपक्षी गठबन्धनमा सामेल छन्। ओलीलाई हटाएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार  भएका नेता नेपाल समूह विपक्षी गठबन्धनमा निर्णायक छन्। 

आफ्नो बाचाबाट पछि नहट्ने नेता नेपाल आफूनिकट केही नेताहरूबाट परेको दबाबले अलमलमा छन्। तर, उनी विपक्षी गठबन्धनबाट बाहिरिन सकेका छैनन्। 

एमाले एकताको अन्तिम प्रयासमा दोस्रो तहका नेताहरू लागेको बेलामा आइतबार देउवा निवासको भेलामा सरिक भए। माओवादीको कर्णाली र सुदूरपश्चिम सरकार जोगाएको नेता नेपाल समूहले अन्य प्रदेशमा समेत विपक्षी गठबन्धनको सरकार बनाउनेबारे छलफल गरेर फर्किए। 

नेकपाको एकता भंग भएपछि गण्डकी सरकारबाट सरकारको नेतृत्व गरेको कांग्रेसले प्रदेश १, लुम्बिनी र बागमती प्रदेशमा समेत गठबन्धनको सरकार बनाउने पहल थालेको छ। त्यसो त एमाले एकतालाई दबाब दिन भन्दै प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित गर्न यी प्रदेशमा एकताबद्ध भएको थिए। 

विपक्षीसँग ओलीविरुद्ध लड्ने बाचा गरेका नेता नेपाल ओलीले गल्ती सच्चाएर अघि बढे अझै एकताको पक्षमा रहेको बताउँदै आएका छन्। विपक्षी गठबन्धनसँग आगामी निर्वाचनसम्म सहकार्य गरेर जानेसम्मको सहमति बनिसकेको अवस्थामा नेता नेपाल एमालेमै फर्कने सम्भावना नरहेको ओली पक्षको नेताहरूको भने बुझाइ छ। तर, उनीनिकट नेताहरू त्यो कुरा  स्वीकार गर्दैनन्।

कम्युनिष्ट पार्टीलाई विधि र पद्धतिमा चलाउनुपर्ने माग गर्दै आएको नेता नेपालले पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागू गर्नुपर्ने पक्षमा छन्। तर, ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट टसमस हुने पक्षमा छैनन्।

संसद् विघटनविरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतको निर्णयलाई मानेर अघि बढ्नुपर्नेमा दोस्रो तहका नेताहरू एकमत देखिएका छन्। 

‘एकताविपरीत होइन’

विपक्षी गठबन्धनसँग नेता नेपालले गरेको कुराकानीले पार्टी एकतामा कुनै असर नपार्ने नेता भीम आचार्य बताउँछन्। 

उनी भन्छन्, ‘उहाँले विपक्षी गठबन्धनका नेताहरूसँग भेटवार्ता गरेर पार्टी एकतको विपक्षमा भएर होइन। त्यो कुरालाई नकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने कुनै कारण छैन।’ 

पार्टी एकताको सहमति गर्ने भनेर चुप लागेर बस्ने अवस्था नभएको उनी बताउँछन्। राजनीतिमा आफू पक्ष र विपक्षीसँग छलफल गर्ने स्वाभाविक भएको उनको भनाइ छ। 

‘हामी छलफलबाट सहमति बनाउन खोजिरहेका छौँ। तर, हालसम्म कुनै त्यस्तो सहमतिको परिस्थिति बनिसकेको भने छैन’ उनले भने, ‘अब हामीबीच एकखालका सहमति बन्यो भने पार्टी एकताको बिन्दु हुन सक्छ।

ओलीले पार्टीले ०७५ जेठ २ कै अवस्थामा फर्काउन सहमति जनाएको भए पनि त्यसमा आफूहरूको आशंका रहेको उनी बताउँछन्।  

‘हामीले उठाएको एजेण्डाको कुरा र मुख्यतः प्रतिनिधिसभा विघटनको कुुरा छ’, उनले भने, ‘तर, त्यहाँ सर्तको कुुरा पनि छन् हाम्रो। हामीले त्यसलाई पनि मिलाउन खोजिरहेका छौँ।’

हस्ताक्षर फिर्ता लिनुपर्ने अडान

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि नेता नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने ओली पक्षको अडान छ। 

तर, नेता नेपाल समूह ओलीले असंंवैधानिक ढंगबाट संसद् विघटन गरेको हुनाले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने भन्दै हस्ताक्षर फिर्ता गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्दै आएको छन्।

पार्टी अध्यक्ष ओली पार्टी एकताको पक्षमा रहेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। 

‘उहाँले आफ्नो तर्फबाट पार्टी एकताका लागि आह्वान गर्नुभएकै हो। तर, उहाँहरूले विभिन्न अडान राख्नुभयो’, उनले भने, ‘हामी पनि पार्टी एकताकै पक्षमा छौँ। त्यसैले विभिन्न कोणबाट छलफल भइरहेको छ। सकारात्मक पनि छ।’

त्यसो त संस्थापन पक्षबाट ओलीविरुद्ध देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने बताउँदै आएको बेलामा नेता नेपाल समूहले ओलीबाट आत्मलोचना गर्नुपर्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। 

‘उहाँबाट संविधान र लोकतन्त्र नै संकटमा पर्ने कदम चालिएको छ। त्यो  सच्चाएर आत्मालोचन गरेर अघि बढे हामी पार्टी एकताको विपक्षमा कहिल्यै उभिएका छैनौँ’, उनले भनिन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.