स्काउटर टोलीद्वारा २० जनाको शव व्यवस्थापन

|

झापा : ४२ वर्षीया शिवानी देवान‚ अहिले व्यस्त छिन्। झापामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिरहेकीले उनको व्यस्तता बढेको हो।

भद्रपुर नगरपालिका–६ की देवान भद्रपुर मावि अध्ययनरत रहेका बेला २०४६ सालमा नेपाल स्काउटमा प्रवेश गरेकी थिइन्। बालबालिका तथा युवालाई शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाउन स्काउटको स्थापना भएको हो।

नेपाल स्काउटको उद्देश्यलाई आत्मसात् गर्दै विद्यार्थी जीवनदेखि नै जनसेवी बनेकी शिवानी अहिलेसम्म नेपाल स्काउटमा आवद्ध छन्। १० वर्षको उमेरदेखि स्काउटमा लागेकी उनले ३२ वर्ष स्काउटमै बिताइसकेकी छन्।

लिटल फ्लावर्स इङ्लिस बोर्डिङ स्कुल बिर्तामोडका स्काउटर (शिक्षक), युनाइडेड युथ ओपेन स्काउट मेचीनगरका क्रेयु रेन्जर लिडर र नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक समेत रहेकी शिवानी अहिले पनि भद्रपुरस्थित नेपाल स्काउटको कार्यालयमा कार्यरत छिन्।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पहिलो लहरमा झापामा १२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। त्यस बेला संक्रमितको शव व्यवस्थापन नेपाली सेनाले गरेको थियो। दोस्रो लहर आएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि नेपाली सेनालाई शव व्यवस्थापनमा चुनौती थपिँदै गयो। त्यसपछि नेपाल स्काउटका प्रदेश १ तदर्थ समितिले शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउने निर्णय गर्‍यो। नेपाली सेनाले झापा, मोरङ र सुनसरीका ४४ जना स्काउटरलाई चार दिने शव व्यवस्थापन तालिम दियो। उक्त तालिम लिएकाहरुले नै अहिले झापामा संक्रमितको शव व्यवस्थापन गर्दै आएको शिवानीले बताइन्।

‘जेठ १९ गते स्काउट भवनमा संक्रमित शव व्यवस्थापन टोली खटिने स्काउटरका लागि छुट्टै क्वारेनटाइन बनाइयो‚’ उनले भनिन्, ‘त्यसपछि जेठ २२ गते नेपाली सेनाको सहकार्यमा स्काउटरले भद्रपुरमा पहिलो संक्रमितको शव व्यवस्थापन गर्‍यो। अहिलेसम्म मेरो नेतृत्वमा ११ जना संक्रमितको शव व्यवस्थापन भइसकेको छ। स्काउटरले मात्र २० जनाको शव व्यवस्थापन गरिसकेको छ।’

पछिल्लो समय झापामा संक्रमितको मृत्यु भए नेपाली सेनाले अहिले स्काउटरलाई जानकारी गराउन थालेको छ। स्काउट भवनमा चारजनाको टोली रहेको र टोलीमा स्काउटरले आलोपालो समय दिइरहेको छ। पहिला सेनालाई मात्र शव व्यवस्थापन गर्ने खबर भए पनि पछिल्लो समय स्काउटरलाई सिधै सम्पर्क गर्न थालेका शिवानीले बताइन्। खबर आएपछि टोली जिल्लाका हरेक स्थानीय तहमा स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सहकार्यमा शव व्यवस्थापन गर्दै आएका उनले बताइन्।

'हामीले एक दिनमा तीन वटासम्म शव व्यवस्थापन गरेका छौँ,' उनले भनिन्, ‘पिपिई, चस्मा, जुत्ता लगाउँदा सुरु सुरुमा उकुसमुकुस हुन्थ्यो, अहिले वास्ता नै हुन छाड्यो।’ 

धेरैजनाको शव व्यवस्थापन गरे पनि महिला भएकै कारण उनलाई नपत्याउने गरेको शिवानीले बताइन्। 'जब हाम्रो टोली पिपिई नलगाईकन संक्रमितको शव व्यवस्थापन गर्न कसैको घर जान्छ,' उनले भनिन्‚ 'संक्रमितका परिवारका सदस्यले मलाई देख्ने बित्तिकै महिलासहितको टोलीले शव व्यवस्थापन गर्न सक्छन् त?’ तर आफ्नो टोलीले संक्रमितको शव सुरक्षित तरिकाले व्यवस्थापन गरिसकेपछि उनीहरूको बोली बन्द हुने उनले सुनाइन्।

संक्रमितको शव व्यवस्थापनमा कुनै समस्या नभोगेको उनले बताइन्। ‘अहिलेसम्म स्काउटरहरु सुरक्षित तरिकाले शव व्यवस्थापन गर्दा संक्रमित हुनु परेको छैन,’ उनले भनिन्, ‘संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव देखाउन पाइँदैन। तर केही परिवारले संक्रमितको अनुहार हेर्न खोज्दा अनि मात्र हामीलाई समस्या हुन्छर त्यस बेला परिवारका सदस्यलाई सम्झाउने बुझाउने कोही नजिकै भइदिए देखि काम गर्न हामीलाई सहज हुन्थ्यो।’

सेनाले दिएको तालिमपछि झापामा दुई वटा टोली (दमक र भद्रपुर)मा बनाए पनि दमको टोली हटाएको नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समिति सदस्य अरुण बस्नेतले जानकारी दिए। ‘टोलीलाई खाना–बस्न समस्या हुने भएपछि दमकको टोली केही दिनमै हटायौं,' बस्नेतले भने, ‘अहिले जिल्ला स्काउट भवनमा रहेको टोली नै जिल्लाभरि शव व्यवस्थापन गर्दै आइरहेको छ।’ टोलीमा तीन महिला र १५ पुरुष गरी १८ जना छन्। उनीहरूले आलोपालो समय दिएर संक्रमितको शव व्यवस्थापन गर्दै आइरहेको उनले बताए। शव व्यवस्थापनमा खटिने टोलीलाई कुनै समस्या छैन। स्काउटरलाई सरकारी पक्षबाट सहयोग प्राप्त भइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.