हट्ला त सवारी जाम ?

|

काठमाडौं : सडक विभागले कोटेश्वर चोकको सवारी जाम कम गर्न यतिखेर नयाँ सडक लेन थप्ने कार्य सुरु गरेकाे छ। सडक डिभिजन कार्यालयले एक महिनाभित्रमा लेन कालोपत्रे गर्ने योजना छ।

विभागका प्रवक्ता शिवप्रसाद नेपालले जडिबुटीदेखि कोटेश्वर चोकसम्म नयाँ लेन थप्ने कार्य भैरहेको जानकारी दिए। उनले भने,‘अहिले धमाधम जडिबुटीदेखि कोटेश्वर चोक सम्मको करिब एक किलाेमिटर सडकको नयाँ लेन बनाउने कार्य भैरहेको छ,काम रोकिएको छैन।’

डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले मौसमले साथ दिएमा एक महिनाभित्रमा लेन कालाेपत्रे भइसक्ने बताए। ‘लेन विस्तार कार्य भैइहेको छ,अहिले चार लेएरको काम भएको छ,’उनले भने,‘वर्षातको सिजन सुरु भइसकेको छ,मौसमले साथ दिएमा ३० दिनमा कालोपत्रे हुन्छ।’ 

कोभिड-१९ का कारण भनेजस्तै निर्माण सामग्रीहरु ल्याउन भने नसकिएको उनले सुनाए। ‘कोरोना संक्रमणले अहिले पनि निषेधाज्ञा कायम छ,भनेको समयमा सामानहरु ल्याउन सकिएको छैन,त्यसैले काम गर्न समस्या छ’ उनले भने।

यस्तो बन्ने छ नयाँ लेन

कोटेश्वर–जडिबुटी सडक ४ लेनको छ। डिभिजन कार्यालय काठमाडौंका प्रमुख नेपालीका अनुसार यो सडक खण्डमा नयाँ ३ लेन थपिने छ। उत्तरतर्फ एक लेन र दक्षिणतर्फ दुई लेन थप हुनेछ।

उत्तरतर्फको लेन कोटेश्वरबाट जडिबुटी जाने सवारी गुड्ने छन् भने दक्षिण तर्फबाट ललितपुर जाने सवारी गुड्ने छन्। करिब ८ करोड लागतमा लेन बन्दै छ। लेन विस्तारकाे काम भने २०७७ भदाैबाट नै सुरु भएकाे थियाे।​

२०७५ सालमा नै जापानी सहयोग नियोग (जाइका) ले जाम हटाउन प्रारम्भीक अध्ययन गरेको थियो। जाइकाले जाम हटाउन तीनकुने–कोटेश्वर सुरुङमार्ग, तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ चार लेनको गाडी गुड्ने आकाशेपुल र तीनकुने–जडीबुटी सुरुङमार्ग विकल्प देखिएको प्रतिवेदन निकालेको थियो। 

समयमा जामको व्यवस्थापन नगरिँदा सवारी जाम भएको बेला कौशलटार,जडिबुटीबाट तीनकुनेसम्म आइपुग्न कम्तीमा पनि एक घण्टासम्म लाग्ने गरेको छ। 

हट्ला त जाम ?

कोटेश्वरको जाम व्यवस्थापनका लागि नियमित १० जना ट्राफिक प्रहरी खटाउनुपर्ने बाध्यता रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई बताउँछन्।

यो लेन बनिसकेपछि केही जाम हट्ने उनको भनाई छ। ‘नयाँ लेन बनेपछि १० देखि २० प्रतिशत सम्म जाम घट्ला,’उनी अनुमान गर्छन। विभागका प्रवक्ता नेपालले पनि नयाँ लेन बनिसकेपछि सवारीसाधनको जाम कम हुने बताए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.