|

सिन्धुपाल्चोक : काठमाडौं महानगरपालिकाले गरेको सहयोग हेलम्बु गाउँपालिकाले अस्वीकार गरेको छ। बढी क्षति भएको र मेलम्ची खानेपानीको मुहानसमेत रहेको हेलम्बुलाई महानगरले हेपेको जसरी सहयोग गरेको भन्दै सहयोग रकम लिन अस्वीकार गरेको हो।

महानगरपालिकाको नगरसभाले असार १ गतेको बाढीको कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको मेलम्ची नगरपालिकालाई दुई करोड तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकलाई ५०/५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। जसअनुसार महानगर प्रमुख विद्यासुन्दर शाक्य आफैं मेलम्ची आएर रकमको चेक हस्तान्तरण गर्दा मेलम्ची र पाँचपोखरी थाङपालले मात्र चेक लिएका थिए।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बढी क्षति भएको ठाउँमा कम र कम क्षति भएको ठाउँमा बढी सहयोग गर्ने महानगरको नीति आफू र हेलम्बुवासीलाई ठिक नलागेकाले रकम अस्वीकार गरेको बताउँछन्। असार १ गतेको बाढीले सिन्धुपाल्चोकमा भएको क्षतिमध्ये ८० प्रतिशतभन्दा धेरै क्षति हेलम्बुमा भएको शेर्पाको भनाइ छ। हेलम्बुमा मात्रै २०० भन्दा बढी घर क्षति, मानवीय क्षति भएको उनले जानकारी दिए।

‘हामी सहयोग त ५० लाख नै होइन, एक हजार रुपैयाँ दिएको भए पनि स्वीरकार्छौं,’ अध्यक्ष शेर्पाले भने, ‘तर राजधानीलाई पानी खुवाउने र सबैभन्दा धेरै क्षति भएको हेलम्बुलाई गरेको कम सहयोग गर्दा हामीलाई हेपेको जस्तो अनुभूति हामीलाई भएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.