|

सल्यान : सल्यानका कृषक पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्।

विगत केही वर्षदेखि घाँसको बिउ र घाँस बिक्री गर्दै आएका त्रिवेणी गाउँपालिका २ काँरागिठीका गोविन्दबहादुर रकालले घाँस बिक्री गरेर वार्षिक ७ लाख आम्दानी गर्दै आइरहेका छन्।

१६ रोपनी क्षेत्रफलमा घाँस खेती गरेका रकालले वार्षिक ७ लाखभन्दा बढी आम्दानी हुने बताए। उनले भने, ‘शरीरमा जाँगर र मनमा इच्छाशक्ति भए थोरै लगानीबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ।‘

बाख्रा र माछासमेत पालन गर्दै आइरहेका रकालले यी दुवैलाई घाँस आपूर्ति गर्न रोपेको भए पनि अहिले बिक्रीसमेत गर्दै आइरहेका छन्। बाख्रा र माछाका लागि पनि घाँस अनिवार्य हुन्छ त्यसको लागि थोरैमा घाँस खेती गरेको भए पनि अहिले बाख्रा र माछालाई खुवाएर पनि वार्षिक बिउ र घाँस बिक्री गर्दै आइरहेको उनले बताए। नेपियर, मुलाटो, बदामे, सिटलेस किमु, सुपर नेपियर लगायतका घाँस लगाएका उनले रोजगारीका लागि विदेशिएका युवाहरु पनि स्वदेश फर्किए।

पशुपालनतर्फ आकर्षित भइरहँदा घाँसको व्यापार फस्टाउँदै गएको बताए। किसानहरुलाई अझै पनि बहु वर्षीय घाँसको महत्व थाहा नभएको उनको भनाइ छ। डाले घाँसलाई मात्र घाँस मान्ने किसानहरुको सोचरहेको उनको भनाइ छ। उनले भने डाले घाँस वर्षमा एक पटक मात्र काट्न मिल्छ तर भुई घाँस वर्षमा ६-७ पटकसम्म काट्न मिल्छ।

त्रिवेणी गाउँपालिका ६ पोखरीका खोपिराम भण्डारीले पनि घाँसको बिउ बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन्। गत वर्ष १ रोपनीमा लगाएको घाँसको बिउ बिक्रीबाट ८० हजार आम्दानी गरेका उनले यो वर्ष घाँसको क्षेत्रफल बढाएको बताए।

घाँस बिक्रीका लागि खासै समस्या नभएको बताउँदै उनले खेर गएको जमिनलाई उपयोग गरेर आम्दानी गर्दै आइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.