|
फाइल फोटो

काठमाडौ : २०७२ सालको  विनाशकारी भुकम्पका कारण  धेरैजसो  पहाडी जिल्लाहरु चिराचिरा परे। भुकम्पले थिलथिलो पारेको अति प्रभावित जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम मूल्यांकनका लागि अध्ययन गर्‍यो। २५ जिल्लाका २ सय ९९ बस्ती उच्च जोखिममा रहेका  देखायो। 

प्राधिकरणका अनुसार बाग्लुङ एक, चितवन ९, धादिङ १६, दोलखा ६, गोरखा २४, गुल्मी पाँच, काभ्रेपलाञ्चोक नौ, ललितपुर १०, लमजुङ ६, मकवानपुर चार, म्याग्दीमा एउटा बस्ती जोखिममा छ।

यस्तै, नुवाकोट ३८, ओखलढुंगा नौ, पर्वत तीन, रामेछाप २८, रसुवा ४१, सिन्धुपाल्चोक ७१, सोलुखुम्बु ६, सिन्धुली पाँच, स्याङ्जा दुई, तनहुँ तीन, संखुवासभाका दुई, धनकुटालगायत जिल्ला उच्च जोखिममा छन्।
 
प्राधिकरणले उच्च जोखिम रहेको बस्ती तत्काल स्थानान्तरण गर्न सुझाब दिएको  थियो। ६ वर्ष पुग्यो तर बस्ती स्थानान्तरणको काम अघि बढ्न सकेको छैन।  भूकम्पले चिराचिरा परेको जमिन र पहिरोको डर थेग्दै आइरहेका स्थानीय ज्यानको बाजी लगाएर बसिरहेका छन्। 

भूगर्भ विद् ले बस्ती सार्नुपर्ने बताए पनि सम्बन्धित निकायको  चासो नदेखाउँदा  जोखिम मोलेरै मानिसहरू बस्न बाध्य भएका छन्।  बर्सेनि मनसुन सुरु भएसँगै बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिबाट बर्सेनि करोडाैं क्षति हुनुका साथै हजारौंको संख्यामा मृत्यु हुने गरेको छ। 

बर्सेनि हजारौंको ज्यान जाँदा पनि बस्ती स्थानान्तरणतर्फ सरकारको ध्यान जान सकेको छैन। हिउँदभरि आनन्दको सास फेरेर बसेका स्थानीय मनसुन सुरु भएपछि कतिबेला अन्तिम सास फेरिने हो भन्ने  डरमा दिनरात बिताउन बाध्य छन्।

प्राधिकरणले २५ जिल्लाका १ हजार १०२ वटा बस्तीमा अध्ययन गरेको थियो। भौगर्भिक अध्ययनले जोखिम बस्तीलाई वर्गीकरण गरेको छ। वर्गीकरणलाई एक, दुई र तीन गरी छुट्याएको छ। वर्गीकरण एकमा चार सय ६३ बस्ती छन्, जुन कम जोखिमका हुन्।

वर्गीकरण दुईमा तीन सय ४० बस्ती छन्। केही समय सार्नु नपर्ने तर जोखिममा छन्। वर्गीकरण तीनमा दुई सय ९९ बस्ती छन्। ती बस्ती उच्च जोखिमका हुन्, जसलाई तत्काल अन्त सार्नुपर्ने अध्ययनले देखाएको छ।  

'जोखिम बस्ती स्थानान्तरण गर्न सरकार, स्थानीय सरकारलाई भनेका थियौं,' प्राधिकरणका सूचना अधिकारी मनोहर धिमिरेले भने, ‘०७२ पछि कति जोखिम बस्ती स्थानान्तरण भयो, हामीलाई जानकारी छैन।’

स्थानीय सरकारले बस्ती सार्नका लागि पहल नगर्दा जोखिम कायमै छ। बस्ती स्थानान्तरणमा सरकारको समन्वय अभावका कारण स्थानीय जोखिम मोल्न बाध्य भएका छन्। 

वैशाखदेखि हालसम्म बाढी तथा पहिरोमा परी २१ जनाको मृत्यु, २१ जना घाइते भएका छन् भने २३ जना बेपत्ता छन्। यीमध्ये अधिकांश घटना प्राधिकरणले जोखिम देखाएका ठाउँमा भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.