|

गोरखा : मागअनुसार पूर्ण सूचना नदिन मेसु शान्ति भुर्तेलले दबाब दिएपछि गोरखा अस्पतालले पत्रकारलाई नक्कली माइन्युट उपलब्ध गराएको छ।

मागअनुसार सूचना उपलब्ध गर्न नमानेपछि असार २ गते गोरखा अस्पतालका सूचना अधिकारीलाई थाहाखबरकर्मीले सूचनाको हक प्रयोग गरेर अस्पताल प्रशासनसँग आवश्यक जानकारी माग गरेका गरेका थिए। तर अस्पतालले दिएको कागजात नक्कली भएको प्रमाणित भएको छ। 

यो पंक्तिकारले संविधानको धारा २७ अनुसार तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार अस्पतालमा आन्दोलनरत कर्मचारी तथा चिकित्सकहरूले अस्पताल प्रशासनसमक्ष पेस गरेका मागपत्रको प्रतिलिपि, अस्पताल कर्मचारी, चिकित्सक र व्यवस्थापन समितिबीच भएको समझदारी पत्रको प्रतिलिपि र अस्पतालमा प्रदेश सरकारका टोली छानबिनका लागि आउँदा भएका निर्णय, सहमति पत्र र माइन्युट माग गरेका थिए।

तर, अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले मंगलबार (हिजो) साँझ पाँच बजेर १७ मिनेटमा थाहाखबरकर्मीलाई अस्पतालले सम्बोधन गरेर लेखेको पत्रसहित अपूर्ण र नक्कली कागजात दिएका हुन्। 

यहाँ हेर्न सक्नुहुनेछ 

 

अस्पतालले थाहाखबरकर्मीलाई लेखेको पत्रमा भनिएको छ- ‘उपरोक्त सम्बन्धमा तपाईको मिति २०७८/०३/०२ को पत्रानुसार सूचना माग भएबमोजिम सूचना यसै पत्रसाथ संग्लन गरिएको व्यहोरा जानकारी गराइन्छ।’

अस्पतालले पठाएको पत्रमा उल्लेख भएअनुसार माग भएबमोजिम सबै सूचना उपलब्ध गराइएको छ।

तर, पत्रसहित प्राप्त सूचना गत जेठ २३ गते गोरखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद दुवाडीको संयोजकत्वमा 'तपशीलको निर्णय गरियो' भन्दै एक माइन्युट र १० बुँदे निर्णयहरू उपलब्ध गराइएको छ।

तर, व्यवस्थापन समिति अध्यक्ष दुवाडी भन्छन्, ‘त्यो दिन हामीले बुँदागत रुपमा निर्णयहरू गरेका छैनौँ। मेसुले आफूमाथि लगाएको सबै आरोप झुटो हो भनेर बुँदागत रुपमा निर्णय गरेर विज्ञप्ति निकालौँ भनेकी थिइन्। तर, मैले हुन्न सबै विषयमा छलफल गरौँ र सहमति गरेर बढौँ भनेपछि माइन्युट बनायौँ। अनि विज्ञप्ति निकाल्यौँ। त्यसरी बुँदागत रुपमा निर्णयहरू भएको छैन।’

दुवाडी १० बुँदे निर्णयसहित पत्रकारलाई उपलब्ध गराएको डकुमेन्ट नक्कली भएको प्रस्ट्याउँछन्। ‘त्यो नक्कली के गरे तिनीहरूले ? पछि खाली ठाउँ राखेर लेखे ? अथवा के गरे ? भोलि बैठक छ, बैठकमा म कुरा राख्छु।’

यो पनि पढ्नुहोस्

प्रतिलिपि माग भएकोमा किन टाइप गरेर पठाउनुभयो भन्ने प्रश्नमा सूचना अधिकारी ढकाल भन्छन्, ‘सूचना अधिकारीको प्रक्रिया बुझ्दिनुस्। तपाईंले जे सूचना माग गर्नुहुन्छ, म त्यसलाई प्रशासनमा दर्ता गर्छु। सूचना अधिकारी आफैँले सूचना दिन मिल्दैन नि, मलाई प्रशासनले जुन सूचना उपलब्ध गरायो, तपाईंले माग गरेअनुसार त्यो मैले तपाईलाई पठाइदिएँ।’

तर, मागअनुसार सूचना आएन भनेपछि सूचना अधिकारी ढकालले भने, ‘हजुरलाई पठाएकोमा अपुग भयो भने अब हजुरले त्यसमा अब्जेक्सन गर्न पाउनुहुन्छ। प्रक्रियामा जाने भनेको फेरि लेख्ने नै हो। तपाईले अफिसमा फेरि पत्र लेख्ने नै हो।’

कागजात नक्कली भएको विषयमा मेसुलाई सम्पर्क गर्न खोज्दा उनले यो पंक्तिकारको नम्बर ब्याकलिस्टमा राखेकी छन्। यसअघि असार १ गते समाचारका विषयमा प्रतिक्रिया लिन खोज्दा आफ्नो डिफेन्समा समाचार नलेखेको भन्दै मेसुले आक्रोश पोखेकी थिइन्। त्यसपछि उनी थाहाखबरकर्मीसँग सम्पर्कमा आउन  चाहेकी छैनन्।

व्यवस्थापन कमजोर भएपछि विशेषज्ञ डाक्टरको सरुवा हुने क्रम बढ्यो, एकले दिए राजीनामा

गोरखा अस्पतालमा २०७८ असोज महिनादेखि हालसम्म ६ जना विशेषज्ञ डाक्टर सरुवा लिएर अन्यत्र गएका छन् भने एक डाक्टरले पूर्वाग्रहपूर्ण नेतृत्वमातहत रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिएका छन्।  मेसुको मनोमानी र व्यवस्थापन समितिको कमजोरीका कारण उनीहरूले सरुवा लिएर जान थालेका हुन्।

अस्पतालका अनुसार जनरल फिजिसियन डा अभिषेक वाग्ले असोज १४, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ केशव आचार्य कात्तिक २४, एमडिजिपी सन्तोष बास्तोला चैत २१, मानसिक रोग विशेषज्ञ सुप्रिया शेरचन २०७८ वैशाख २, हाडजोर्नी विशेषज्ञ केशवमणि गौतम वैशाख १५ मा र एनेस्थेसियोलोजिस्ट सुरज ढकाल सरुवा भएका छन्।

अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हेमन्त दुजानाले पूर्वाग्रहपूर्ण नेतृत्वमातहत रहेर काम गर्न नसक्ने भन्दै गत असार १ गते सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशसमक्ष राजीनामा दिएका थिए।

दुजानाले बुझाएको राजीनामा पत्रमा लेखिएको छ- ‘कोरोना महामारी अहिलेको अवस्थामा सामूहिक रुपमा तनावमुक्त तथा मैत्रीपूर्ण वातावरणमा सेवा दिन सक्नुपर्ने अस्पताल अहिले गुटबन्दी, आरोप-प्रत्यारोप र दबाबको भुमरीमा अल्मलिएको छ। तसर्थ, पूर्वाग्रहपूर्ण नेतृत्वमातहत रहेर यस्तो अवस्थामा काम गर्न सक्ने वातावरण नभएकोले मिति २०७८/३/१ गतेदेखि लागू हुने मेरो राजीनामा स्वीकृत गरिपाऊँ भनी विनम्र निवेदन गर्दछु।’

मेसुकै कारण दुजानाले राजीनामा दिन बाध्य भएको भन्ने समाचार थाहाखबरमा प्रकाशित भएपछि अहिलेसम्म उनको राजीनामा पत्र उपर मन्त्रालयले कुनै निर्णय गरेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.