|

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लम्ब्याएको छ। निजी सवारी साधनको सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको छ भने हप्ताको तीन बार मात्रै केही पसल सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थपिएको छ।

प्रशासनले असार १७ गते राति १२ बजेसम्मको लागि लागू हुने गरी निषेधाज्ञा थपेको हो। असार १० गते राति १२ बजेपछि जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुन पाउने छन्। यसरी सञ्चालन हुने निजी सवारीसाधन सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु रहनेगरी सञ्चालन गर्न पाइनेछ।

त्यसैगरी, भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदि, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस तथा फोटोकपी पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ४ बजेसमम्म मात्रै सञ्चालन हुन पाउनेछन्।

होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउने छन्। खाद्यान्न, फलफूल तथा तरकारी, माछा÷मासु, दूध डेरी, पोल्ट्रीजन्य वस्तु विक्री गर्ने पसल, निर्माण सामग्री, पुस्तक तथा स्टेशनरी, भेटेरीनरी र खाना पकाउने ग्यास विक्री गर्ने पसलहरु दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन्।

दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि सञ्चालन हुन पाउने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेबाट जारी निषेधाज्ञासम्बन्धी आदेशमा उल्लेख छ। बढी भिडभाड हुने सरकारी कार्यालय जिल्ला प्रशासन, मालपोत, नापी र यातायात व्यवस्था कार्यालय बाहेकका कार्यालयहरु पनि खुल्ने लामिछानेले बताए।

जनस्वास्थ्य मापदण्ड पालना गराएर न्युनतम कर्मचारी खटाई कार्यालय खोल्न दिइने उनले बताए। बैंक तथा वित्तीय संस्था र सहकारी यसअघि नै खुला गरिसकिएको छ। जिल्लामा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार २०० रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.