|

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँपालिकामा राहतमा राजनीति भएको छ।

कोरोना संक्रमितको घरघरमा पुगेर राहत बाँड्ने क्रममा नेकपा एमालेले पार्टीअंकित झोला दिएर पार्टीको प्रचार गरेका स्थानीयले आरोप लगाएका छन्।

नेकपा एमाले ओखलढुंगा लिखु गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले गाउँपालिकामा राहत दिँदा नेकपा एमाले ओखलढुंगा लिखु गाउँपालिका काठमाडौं सम्पर्क मञ्चउल्लिखित झोलामा पार्टीको चुनाव चिह्नसमेत राखेर राहत दिएको भन्दै स्थानीय असन्तुष्ट बनेका छन्। 

झोलाभित्र नुन, केराउ, साबुन, च्यावनप्रासलगायत सामग्री रहेको एमाले लिखु काठमाण्डौं सम्पर्क मञ्चले जनाएको छ। तर, ती सामग्री विभिन्न दाताबाट रकम उठाएर एमालेले आफ्नो नाममा वितरण गरेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्। 

'दीर्घ जीवन र सु स्वास्थ्यको कामना, आत्मीयतासहित मायाको झोला’ भन्ने स्लोगन राखेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका नेता/कार्यकर्ताले राहत बाँडेका हुन्।

एमालेले लिखु गाउँपालिका वडा नं १, २ र ३ का कोरोना संक्रमितका घरमा पुगेर उक्त झोला र सामग्री प्रदान गरेको थियो। त्यस अभियानमा एमालेका नेताहरु नानीबाबु बुढाथोकी, तीर्थ सुवेदी, सुरेन्द्र बोगटीलगायत नेता सहभागी थिए।

'लिखुमा एमालेकै सरकार छ, पीडितलाई समस्यै भयो भने सरकारले राहत दिने हो, पार्टीको प्रचार गर्न र राहतका नाममा राजनीति गर्न पाइँदैन भनेर हामीले विरोध गरेका हाैं,' स्थानीय मोहन कार्कीले बताए।

राहतमा पार्टीको प्रचार शैलीलाई लिखुका स्थानीयले व्यापक विरोध जनाइरहेका बेला एमाले ओखलढुंगा काठमाडाैं सम्पर्क मञ्चका अध्यक्ष मोहन विष्ट (टीका) ले पार्टीले रकम संकलन गरेर राहत उपलब्ध गरेको स्वीकार गरेका छन्।

पार्टी कार्यकर्ता तथा दाताहरुबाट आफूहरुले तीन लाखभन्दा बढी रकम संकलन गरेर लिखुमा राहत सामग्री प्रदान गरेको उनले बताए। पार्टीले दिएको राहतमा पार्टीले आफ्नो नाम राख्नु स्वाभाविक भएको उनको बुझाइ छ। सरकारले हरेक ठाउँमा राहत उपलब्ध गराउन नसक्ने र पार्टीको पनि जिम्मेवारी भएको कारण एमालेले राहत वितरण गरेको उनले बताए। 

लिखु गाउँपालिका वडा नं १ का वडाध्यक्ष कुमार सुवेदीले भने वडासँग कुनै समन्वय नै नगरी राहत बाँडिएको बताए। एमाले नेता बोगटीले भने आफू त्यस अभियानमा सहभागी नभएको जिकिर गर्दै राहत सामग्री गाउँपालिकामा बुझाइएको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.