आयात परिमाण भने सुधारोन्मुख

|

पर्सा : वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा एलपी ग्यास खरिदमा मात्रै करिब सवा १८ अर्ब रकम बाहिरिएको छ। 

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म कुल १८ अर्ब १४ करोड ३१ लाख ३५ हजार रकम यो नाकाबाट बाहिरिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ 

यो रकम आर्थिक वर्ष २०७६/०७७ को ११ महिनाभन्दा ६८ करोड १६ लाख ८५ हजारले बढी हो। गत वर्षको साउनदेखि जेठसम्मको ११ महिनामा भने ग्यास खरिदमा वीरगन्ज नाकाबाट कुल १७ अर्ब ४६ करोड १४ लाख ५० हजार बाहिरिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। 

जेठमा मात्र १ अर्ब ९५ करोडको ग्यास भित्रियो 

चालु आर्थिक वर्षको जेठ महिनामा पनि १ अर्ब ९५ करोड ११ लाख २ हजारको एलपी ग्यास मुलुक भित्रिएको छ। यो पनि गत वर्षको जेठभन्दा ८१ करोड २२ लाख २६ हजारले बढी रकम मुलुकबाट बाहिरिएको देखिन्छ।

गत वर्षको जेठ महिनामा भने एलपी ग्यास खरिदमा कुल १ अर्ब १३ करोड ८८ लाख ७६ हजार मात्र यो नाकाबाट रकम बाहिरिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए। 

ग्यासको आयात भने १ करोड १७ लाख किलो घट्यो 

चालु आर्थिक वर्षमा लागतका हिसाबले रकम बाहिरिने क्रम बढी देखिए पनि परिमाणात्मक तुलनामा भने गत वर्षभन्दा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट १ करोड १७ लाख ७१ हजार १ सय ७५ किलोग्राम कम एलपी ग्यास मुलुक भित्रिएको पाैडेलले बताए।

देशका अन्य भन्सार नाकाबाट पनि यसरी नै आयात घट्न थालेको हो भने त्यो सुखद् पक्ष भएको उनले आशा व्यक्त गरे। परिमाण घट्नुमा मुलुकभित्र बढ्दै गएको विद्युत् उत्पादन र खपतले पनि काम गरेको उनको भनाइ छ। लागत बढ्नुमा चाहिँ ग्यासको मूल्यमा हुने अन्तराष्ट्रिय मूल्यको उतारचढावमा भरपर्ने उनी बताउँछन्। 

‘किन्नेले त जति मूल्य पर्छ त्यहीअनुसार पैसा भुक्तान गर्नु पर्नेहुन्छ’, यसो हुँदा पनि ग्यास आयात गर्दा लागत भने स्वाभाविक बढ्न गएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए।

राजस्वतर्फ भने ग्यासले ३ अर्ब ३८ करोड ४२ लाख योगदान

वीरगन्ज भन्सारमा एलपी ग्यास आयातले मात्र राजश्व संकलनमा भने गएको ११ महिनामा ३ अर्ब ३८ करोड ४२ लाख ९० हजारको योगदान गरेको उनको भनाइ छ।

यो पनि गतवर्षको सोही अवधिभन्दा १२ करोड ७२ लाख ३५ हजार बढी हो। गत वर्ष भने अहिलेभन्दा १ करोड १७ लाख ७१ हजार १ सय ७५ किलोग्राम ग्यास बढी आयात हुँदा पनि भन्सारको राजश्वमा योगदान भने कुल ३ अर्ब २५ करोड ७० लाख ५५ हजार मात्र रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.