|

झापा : विपतमा परेकालाई सहयोग गर्ने उद्देश्यले स्थापित मेची अभियानले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। 

करिब २८ लाख मूल्य बराबरको १२ वटा अक्सिजन कन्सन्ट्रेटरलाई जिल्ला प्रशासन कार्यालय परिसरमा बिहीबार एक संक्षिप्त कार्यक्रमका बिच मेची अभियानका संयोजक विजय डालमियाले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई हस्तान्तरण गरेका हुन। 

यता प्राप्त अक्सिजन कन्सन्ट्रेटरलाई डिसिसिएमसी मार्फत झापाका १२ वटा पालिकाका स्वास्थ्य संस्थालाई एकरएक थानको दरले वितरण गरिने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

कोरोना महामारीसहित दीर्घकालीन रुपमा काम लाग्ने महत्त्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै प्रजिअ तिमिल्सिनाले मेची अभियान टिमलाई धन्यवादसमेत दिए।

कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डे, अभियानका सदस्यहरू प्रकाश भण्डारी, ओमप्रकाश खापुङ र सविना बजगाइँको समेत उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा एनआरएन ग्लोबल तथा करुणा फाउन्डेसनबाट प्राप्त २५ वटा अक्सिजन कन्सन्ट्रेटरमध्ये मेची अभियानले १२ वटा डिसिसिएमसीलाई उपलब्ध गराएको अभियानका संयोजक डालमियाले बताए।

एनआरएन ग्लोबलमार्फत मेची अभियानलाई २० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ। त्यसमध्ये झापामा १२ थानसहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई दुईर दुई थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिने उनले बताए। 

यसअघि करुणा फाउन्डेसनको सहकार्यमा उपलब्ध भएको पाँच वटा अक्सिजन कन्सन्ट्रेटर मेची अभियानले बुद्धशान्ति गाउँपालिकाको आइसोलेसनलाई दुई थान र मेचीनगरको आम्दा अस्पताललाई दुई थान, धाइजन आइसोलेसनलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताए। 

भूकम्पपछि विपत्तिमा परेकालाई सहयोग गर्ने उद्देश्यले २०७२ सालमा स्थापना भएको मेची अभियानले राहत र निर्माण सामग्री वितरण गरी सहयोग गर्दै आइरहेको थियो।

गत सालदेखि कोरोना भाइरसको महामारी फैलिएसँगै अभियानले पहिलो र दोस्रो चरणमा जिल्लामा स्वास्थ्य सामग्री र उपकरण वितरण गरी मानवीय सेवामा योगदान दिन थालेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.