पाँच दलले नगर कार्यालयमा ताला लगाए

|

जनकपुरधाम : महोत्तरीको मटिहानी नगरपालिकाको नगरसभा भइरहेकै बेला नगरपालिका कार्यालयमा भने असन्तुष्ट समूहले ताल्चा लगाएका छन्। ​

मटिहानी नगरपालिकामा पाँच दल र स्थानीय मिलेर नगरपालिकाको मुल गेटमा ताल्चा लगाएका हुन्। 

पाँचै दलका ५०/६० जनाले नाराजुलुस गर्दै नगरपालिकामा तालाबन्दी गरेका हुन्। नारा जुलुसका क्रममा उनीहरूले 'भ्रष्टाचारी मेयर मुर्दावाद', 'तानाशाह मेयर मुर्दावाद', 'गोपनीय परिषद मुर्दावाद', 'आयव्यय सार्वजनिक गर', 'योजना तर्जुमा तथा गोप्य परिषद् खारेज गर' लगायत नारा लगाउँदै नगरपालिका कार्यालय पुगेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। 

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य राजकिशोर मण्डल, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का नगरध्यक्ष रामनन्दन यादव, नेपाली कांग्रेसका नगर संयोजक रामपदार्थ साह, नेकपा एमाले (माधव नेपाल पक्ष) का नगर कमिटी अध्यक्ष लालबाबु यादव र जनमत पार्टीका नगर कमिटी अध्यक्ष जगतलाल यादवले मटिहानी नगरपालिकाको कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका हुन्।

मटिहानी नगरपालिकामा करार सेवामा १८ जना स्वास्थ्यकर्मीहरू भर्ना गर्दा कुनै पनि प्रक्रिया पूरा नगरी आफ्ना आसेपासेलाई नियुक्ति गरेको, आफूसँग ५/७ जना केटाहरूलाई लठैतको रुपमा घुमाएर उनीहरूलाई नगरपालिकाबाट तलब खुवाउने गरेको, नगर क्षेत्रमा डेढ करोडको लागतमा खानेपानीको योजना सञ्चालन गरेर आफ्ना आसेपासेलाई खानेपानी पाइप बाँडेको, नगर क्षेत्रमा सञ्चालन हुने विकासका कामहरूका लागि नाम मात्रको नक्कली उपभोक्ता समिति बनाएर वडासचिव इन्जिनियरद्वारा नै योजना सञ्चालन गरेको, कर्मचारी र उपभोक्ता समितिको मिलोमतोमा बजेट हिनामिना गरेकोलगायत आरोप लगाउँदै पाँच दलका नेताहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन्।

पाँच दलले एक दिन पहिले नगरप्रमुख मण्डलसमक्ष विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाउन गएका थिए। नगरपालिकाले भने ज्ञापन पत्र बुझेको थिएन। आज नगरसभा चलिरहेकै बेला पनि पाँच दलले ज्ञापन पत्र बुझाउन जाँदा नबुझेपछि उनीहरूले तालाबन्दी गरेका हुन्।

नेपाली कांग्रेसका नेता जयकुमार चौधरीले मेयर मण्डलको विभिन्न क्रियाकलापविरुद्ध १७ बुँदा उल्लेख गर्दै जिल्लाको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र केन्द्रीय कार्यालयमा समेत उजुरी दिइसक्दा पनि कुनै कारबाही नभएको आरोप लगाए।

यसैबीच आजै दिउँसो मटिहानी नगरपालिकाले आफ्नो साताैं नगरसभा सम्पन्न गरेको छ। मटिहानीको वडा नं.८ मा स्थित राष्ट्रिय संस्कृत माध्यमिक विद्यालय मटिहानीको सभा हलमा मटिहानी नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको हो।

असार १० गतेभित्र नै नगरसभा गर्नुपर्ने भएकोले कतिपय पालिकाले कागजमै घरघर गएर हस्ताक्षर गराएर नगरसभा गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.