|

काठमाडाैं : समूह चरणका अन्तिम खेलमा स्पेनले स्लोभाकियामाथि सानदार ५-० को जित निकालेको छ। जारी युरो कपमा स्पेनको यो पहिलो जित हो। यसअघि स्पेनले दुवै खेल बराबरीमा टुंग्याएको थियो। 

स्लोभाकियाले भने मात्र एक खेलमा जित निकालेको थियो।

स्पेनलाई जित दिलाउन गोलरक्षक मार्टिन डुब्राभ्का र मिडफिल्डर जुराज कुच्काले आत्मघाती गोल गरेका थिए। गोलरक्षक डुब्राभ्काको आत्मघाती गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो।

खेलको १२ औ मिनेटमा अल्भारो मोराटाको पेनाल्टी प्रहार बचाउँदै नायक बनेका डुब्राभ्का ३० औ मिनेटमा खलनायक बने। डिफेन्सले मिसपास गरेको बलमा पाब्लो सराबियाले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो।

उक्त रिबाउन्डलाई बाहिर पठाउने प्रयासमा डुब्राभ्काले सिधै पोस्टभित्र बल प्रहार गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयमा डिफेन्डर एमेरिक लापोर्टाले गोल गर्दै अग्रता दोब्बर बनाए।

स्लोभाकियाको डिफेन्सले कर्नरमा राम्रो क्लियरेन्स गर्न नसक्दा जेरार्ड मोरेनोले दिएको क्रसलाई लापोर्टले हेडरमार्फत गोल गरेका थिए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको स्पनेले दोश्रो हाफमा थप ३ गोल ग¥यो।

खेलको ५६ औ मिनेटमा पाब्लो सराबियाले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिसिङमा गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए। जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसलाई फार पोस्टमा गोल गरेका थिए।

६७ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेसले टिमका लागि चौथो गोल गरे।  ७१ औं मिनेटमा जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेन ५–० ले अघि बढ्यो।

पाउ टोरेसको प्रहारलाई गोलरक्षक डुब्राभ्काले बचाउने प्रयास गरेपनि त्यसपछि आएको बललाई कुच्काले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो।  स्लोभाकियाले तेश्रो स्थानमा रहने उत्कृष्ट ४ मा समेत स्थान बनाउन सकेन। उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको स्पेनले अन्तिम ८ प्रवेशका लागि कोएसिया  प्रतिद्वन्द्वी पाएको छ।  

समूह 'इ' अन्तर्गत बुधबार राति यही समयमा सम्पन्न खेलमा अर्को खेलमा भने पोल्याण्ड भने स्विडेनसँग हार्दै जारी युरोकपको समूह चरणबाटै बाहिरएको छ। उसले तीन खेलमा मात्र एक अंक प्राप्त गरेको छ। स्विडेनलाई जिताउन खेलको दोस्रो मिनेटमै इमिल फोर्सबर्गले गोल गरेका थिए। 

उनैले खेलको ५९ मिनेटमा दोस्रो गोल पनि गरे। तर पोल्याण्डले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल बराबरीमा ल्याएको थियो। पोल्याण्डका रोबर्ट लेवन्डोस्कीले ६१ औं र ८४ मिनेटमा गोल गर्दै टोलीलाई केही आशा दिलाए पनि दोस्रो हाफ सकिएपछि थपिएको तेस्रो मिनेटमा स्विडेनका भिक्टोर क्लासोनले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए। 

स्पेनलाई जिताउन आज एमेरिक लापोर्टे, पाब्लो साराबिया र फरान टोरेसले एक/एक गोल गरे। स्पेनले दुई गोल आत्मघातीमार्फत उपहार पायो। एकपक्षीय खेल पस्केको स्पेनले आजको खेलमा जित दर्ता गर्दै समूह उपविजेता पनि बनेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.