|

काठमाडौं : देशकै जेठो हो काठमाडौं महानगरपालिका। यहाँ ३२ वटा वडा छन्।

नेपालमा बढी वडा हुने पनि यही महानगरपालिका हो काठमाडाैं। २०७४ जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भएका थिए।

त्यसयता उनले कार्यभार सम्हालेको चार वर्ष पूरा भइसकेको छ। उनले सुरुमा २०७४ असार महिनामा २०७४/७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। नीति तथा कार्यक्रममा मुख्य त मोनोरेल, मेट्रोरेल जोडिएको छ। 

‘निजी तथा साना सवारी साधनहरुको प्रयोगलाई निरुत्साहित गरी महानगरबासीलाई सार्वजनिक यातायातको अधिकतम उपयोग गर्न हाल विश्वव्यापी रुपमा चलनचल्तीमा आएका सुविधायुक्त ठूला बसहरूको प्रयोग, बस र्‍यापिड ट्रान्जिट, मोनोरेल, सिटी केवल कार, ट्राम, र मेट्रोजस्ता विभिन्न विकल्पको अध्ययन गरी उपयुक्त र बृहत्तर शहरी यातायात योजना बनाई लागू गरिनेछ,’ महानगरले ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ। 

काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा आवश्यक संख्यामा स्मार्ट सार्वजनिक शौचालय तथा इ-ट्वाइलेटहरू निर्माण गरिने पनि नीतिमा थियो। साइकल सिटी, नो मास्क सिटी, कार्यविधि बनाई प्लाष्टिकमुक्त शहर बनाइने, स्मार्ट सिटी बनाइने, सवारीसाधनबाट निस्किने प्रदूषण नियन्त्रण गर्ने पनि नीतिमा थियो।

कार्यक्रम सार्वजनिक गर्दै प्रमुख शाक्यले त्यसबेला भनेका थिए-‘नीति तथा कार्यक्रमहरू अवलम्बन गरिनेछ, यसै नीति तथा कार्यक्रमको अधीनमा रही काठमाडौं महानरपालिकाको बजेट तथा कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गरिनेछ।’ 

उनले ल्याएको यो योजनाले उनको चर्चा चुलियो। कार्यान्वयनमा आउने अपेक्षा राखेका थिए स्थानीयले। तर यी योजना कार्यन्वयन भएन। एक वर्षसम्म यी योजनाको चर्चा मात्रै भयो।

महानगरपालिकाले फेरि २०७५ असारमा ०७५/७६ काे नीति तथा कार्यक्रम ल्यायो। सोही कार्यक्रममा पनि नो मास्क सिटी, स्मार्ट सिटी, मोनोरेल, मेट्रो, केबलकार बनाउने योजना समावेश गरियो।

काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदूषणलाई नियन्त्रण गर्न उपत्यका छिर्ने नाकाहरूमा आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने, चिकित्सकसहित महानगर अस्पताल, स्मार्ट शौचालय निर्माण,नगर प्लास्टिक झोलामुक्त गरिने, तीनकुनेमा बुद्धपार्क निर्माण गर्नेलगायत योजना थियो। तर, कार्यन्वयन हुन सकेन।

महानगरपालिकाले ०७६/७७ को नीति तथा कार्यक्रममा पनि अस्पताल सञ्चालन, स्मार्ट सिटी, आधुनिक भेहिकल क्लिनिङ निर्माण, मेट्रो रेल जोडियो। झनै प्लाष्टिक झोलामुक्त सहर नै घोषणा गर्ने भनिएको थियो। तर ती योजना योजनामै सीमित भए।

महानगरपालिकाले अर्को २०७७ असारमा ०७७/७८ को नीति तथा कार्यक्रम ल्यायो। नीति कार्यक्रममा भनिएको थियो-‘जीवनउपयोगी, व्यवसायिक प्रविधियुक्त पूर्वाधारसहित शिक्षामा जोड दिइनेछ,अस्पताल निर्माण गरिनेछ,आधुनिक भेहिकल क्लिनिङ,साइकल लेन बनाइने छ, मेट्रोरेल सञ्चालन गरिनेछ।’ 

त्यस्तै, नो मास्क सिटी,प्लाष्टिक झोलामुक्त सहर, तीनकुनेमा बुद्ध पार्क निर्माण गरिने कार्यक्रममा थियो। तर, न त माेनोरेल गुड्याे न तीनकुनेमा पार्क बन्यो। रेल नचढी प्रमुख शाक्यको कार्यकाल सकिँदै छ। महानगरपालिकाले तीनकुनेकाे जग्गा विवाद टुंग्याउन नसक्दा अहिले त्यहाँ खेल्ने चौर भएको छ। चर्चा पाए पनि आधुनिक भेहिकल क्लिनिङ अहिलेसम्म पनि बन्न सकेको छैन। 

महानगरपालिका प्रमुख शाक्यले आफ्नो कार्यकालको अन्तिम २०७८/७९ को नीति तथा कार्यक्रम यही असार ३ गते सार्वजनिक गरेका थिए। उक्त कार्यक्रममा पनि ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टिकृत सेवा सहितको सुविधा सम्पन्न एक सय बेडको काठमाडौं महानगर विशेष अस्पताल निर्माण गरिने बताएका छन्।

काठमाडौं उपत्यका भित्रिने सवारी साधनहरूबाट निस्कने धुलोका कारण भइरहेको प्रदूषण नियन्त्रणका लागि उपत्यका छिर्ने नाकाहरूमा अन्य स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने कार्य यसै आर्थिक वर्षमा आरम्भ गरिने पनि कार्यक्रममा उल्लेख छ। महानगरपालिकाले यस आवका लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम ल्याएको छ।

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने लगायत महानगरले नीति लिएको छ। यी सबै नीति कार्यक्रम महानगरपालिकाले पारित समेत गरिसकेको छ। तर यस वर्ष पनि यी नीतिहरू कार्यान्वयनमा आउँछ भन्ने निश्चित देखिँदैन।

नेतृत्व सक्षम भएन

महानगरपालिकाले चार वर्षसम्म पनि भनेजस्तै सेवा सुविधा दिन नसकेको अनुभूति स्थानीयले गरेका छन्। चाबहिलका स्थानीय सुमन अधिकारी महानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार चार वर्षसम्म पनि काठमाडौंको शहर परिवर्तन हुन नसकेको बताउँछन्।

उनले भने,‘महानगरको नीति कार्यक्रम हेर्दा र सुन्दा त साँच्चै केही परिवर्तन आउला जस्तो हुन्छ,नो मास्क सिटी भनेको छ,घर बाहिर निस्किनु पर्यो भने धुवाँ धुलोले मास्क नलगाई सकिँदैन,उपत्यकाको सडक पानी पर्दा हिलाम्मे र पानी नपर्दा धुलाम्मे हुन्छ, खै के विकास गर्‍याे भन्नु।’ 

सहि नेतृत्व गर्ने व्यक्ति नहुँदा समस्या ज्यूँ का त्यूँ रहेको उनको भनाई छ। ‘नेपालमा विकासका लागि सही नेतृत्व गर्ने मान्छे नै छैन,हाम्रो महानगर प्रमुखसँग पनि राम्रो विकासवान् क्षमता देखिएन, ठूला भाषणले विकास हुँदैन,आफू लाग्नुपर्छ,अनि पो सबैले सपोर्ट गर्छन्,’अधिकारीले भने।

किन नीति कार्यक्रम कार्यान्वयन भएन ?

महानगरपालिकाले २०७७ सालमै भेहिकल क्लिनिङ निर्माणको लागि प्रदेश सरकारबाट १५ करोड र स्थानीय सरकारले पाँच करोड गरी कुल २० करोड बजेट पनि निकासा गरिसकेको थियो।

तर, महानगरपालिकाका महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ पानीको स्रोत नभेटिएकाले बनाउन नसकिएको बताउँछन्। महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने सडक विभाग, विद्युत् प्राधिकरणको एक नासको समन्वय हुन नसक्दा काम अघि बढ्न नसकेको तर्क गर्छन।

मोनोरेलको विषयमा धेरै खर्च लाग्ने भएकाले महानगरपालिकाले मात्रै सञ्चालन गर्न नसकेको उनले बताए। ‘माेनोरेल,मेट्रो रेल सञ्चालन गर्न खर्बौ खर्च लाग्छ,’प्रवक्ता डंगोलले भने,‘यो सबै महानगरपालिकाले व्यहोर्न सक्दैन,दुई वटा स्मार्ट शौचालय बनाइसकेका छौँ, अरु ठाउँमा पनि बनाउँछौँ।’

महानगरपालिकाले ल्याएको अधिकांश योजनाहरू बजेट अभावले कार्यन्वयन हुन नसकेको उनको भनाइ छ। भने, ‘यो नवौँ अधिवेशनमा पहिलाकाे कमीकमजोरीलाई सच्याएर अघि बढ्ने छौँ।’

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.